फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सिवांश’ को पत्रकार सम्मेलन कोशी प्रदेशमा सम्पन्न भएको छ। सम्मेलनमा फिल्मका प्रमुख कलाकार बिमला लिम्बू र उदय कुमार सुब्बा ले चलचित्रमा काम गर्दा पाएको आफ्ना अनुभवहरू साझा गरेका थिए।
कलाकारहरूले ‘सिवांश’ फरक विषयवस्तु र गहिरो कथामा आधारित फिल्म भएको बताउँदै दर्शकले नयाँ अनुभूति पाउने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार फिल्मको कथावस्तुले अभिनयका लागि पनि चुनौती र अवसर दुवै दिएको थियो।
पत्रकार सम्मेलनमा फिल्मका निर्देशकले ‘सिवांश’ पौराणिक कथाबाट प्रेरित भएर बनेको उल्लेख गर्दै, यस्तो विषयवस्तुमा आधारित फिल्मले घाटा नबेहोर्ने दाबी गरे। “यो फिल्मले दर्शकको माया पाउनेमा हामी ढुक्क छौँ,” निर्देशकको भनाइ थियो।
नेपालीसँगै हिन्दी, तेलुगु र मलयालम भाषा प्रयोग गरेर पाँच भाषामा तयार गरिएको ‘सिवांश’ नेपालमा मात्र सीमित नरही छिमेकी देश भारतमा समेत प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरेर बनाइएको फिल्म भएकाले यसको व्यापारिक सम्भावनाप्रति निर्माण पक्ष पूर्ण रूपमा विश्वस्त देखिएको छ। अब दर्शकले फागुन १ गतेबाट सिनेमाहलमा ‘सिवांश’ मार्फत पौराणिक कथामा आधारित फरक स्वादको चलचित्र हेर्न पाउनेछन्।










