नेपाली फिल्म क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह एक दशकपछि पुनः निर्देशनमा फर्किएका छन्। उनको निर्देशनमा बन्न लागेको आठौं फिल्म ‘कमला मिस’को शुक्रबार बिहान ललितपुरको इमाडोलस्थित न्यू मिलेनियम स्कुलमा शुभमुहूर्त गर्दै औपचारिक रूपमा छायांकन सुरू गरिएको हो।
यसअघि शाहले सन् २०१५ मा ऐतिहासिक पृष्ठभूमिमा आधारित फिल्म सेतो बाघ निर्देशन गरेका थिए। लामो अन्तरालपछि उनी संवेदनशील कथावस्तु बोकेको नयाँ परियोजनासहित दर्शकमाझ फर्किएका हुन्। स्वर्गीय साहित्यकार विजय मल्ल द्वारा लिखित चर्चित नाट्य कृति कोही किन बर्बाद होस् बाट प्रेरित फिल्म ‘कमला मिस’ले बाल मनोविज्ञानजस्तो गहिरो र संवेदनशील विषयलाई केन्द्रमा राख्नेछ। प्रेम, मातृत्व र अभिभावकीय जिम्मेवारीले बालबालिकाको जीवनमा पार्ने प्रभावलाई कथामार्फत उजागर गरिने जनाइएको छ।
फिल्ममा निर्देशक शाह स्वयंको अभिनय रहनेछ भने बास्ना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी लगायत कलाकारको सहभागिता रहनेछ। विजय मल्ल स्मृति प्रतिष्ठान को प्रस्तुतिमा बन्न लागेको फिल्मका कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान रहेका छन्। कथाकार विजय मल्लकै कृतिमा आधारित यस फिल्मको पटकथा तथा संवाद नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
प्राविधिक टिमतर्फ शिवराम श्रेष्ठले छायांकन सम्हाल्नेछन् भने युग भुसालको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
सन् १९६९ मा प्रकाशित ‘कोही किन बर्बाद होस्’माथि कुञ्ज थिएटर, सेन्ट जेभियर्स कलेज र बुढानिलकण्ठ स्कुललगायत संस्थाले नाटक मञ्चन गरिसकेका छन्। कुञ्ज थिएटरको प्रस्तुतीमा चर्चित रंगकर्मी सुनिल पोखरेल को समेत अभिनय रहेको थियो। यसपटक उक्त चर्चित कृतिको भावनात्मक गहिराइलाई पर्दामा उतार्ने तयारीसँगै ‘कमला मिस’प्रति दर्शकमा उत्सुकता बढेको देखिन्छ।










