विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट सञ्चालनमा आएको हो।
कार्यालयको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले एक समारोहबीच गरेका हुन्। विराटनगर–३ स्थित वडा कार्यालय परिसरमा सञ्चालनमा आएको उक्त कार्यालयले अब प्रतिष्ठानका कार्यक्रम र गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले भाषा, साहित्य, कला र संस्कृतिको संस्थागत विकास महानगरको प्राथमिकतामा रहेको बताए। उनले विराटनगरभित्र रहेका विविध भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानमार्फत योजनाबद्ध रूपमा काम भइरहेको जानकारी दिए। साथै राष्ट्रियस्तरका भव्य कार्यक्रम आयोजना गरी विराटनगरको पहिचान स्थापित गर्न उनले प्रतिष्ठानलाई आग्रह गरे।
वडा नं. ३ का अध्यक्ष वासुबहादुर बस्नेतले आफ्नो वडा कार्यालयमै प्रतिष्ठानको कार्यालय स्थापना हुनु गौरवको विषय भएको बताए। उनले भौतिक पूर्वाधार मात्र विकासको सूचक नभएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिको उन्नयनले नै समग्र विकास सुनिश्चित गर्ने धारणा राखे।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले कार्यालय व्यवस्थापनमा सहयोग गरेकोमा महानगरप्रति आभार व्यक्त गरे। उनका अनुसार संस्थाको दीर्घकालीन स्थायित्व र प्रभावकारी सञ्चालनका लागि आफ्नै कार्यालय महत्त्वपूर्ण आधार बनेको छ।
प्रतिष्ठानका सदस्यसचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले निकट भविष्यमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। यसअघि प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गरिसकेको छ। साथै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कोशी प्रादेशिक ललितकला प्रदर्शनीसमेत सम्पन्न गरेको थियो।
महानगरको पहलमा गठन गरिएको प्रतिष्ठानले सांस्कृतिक क्षेत्रलाई संस्थागत ढंगले अघि बढाउने लक्ष्य राखेको छ। आफ्नै कार्यालयबाट सेवा सुरु भएसँगै प्रतिष्ठानका गतिविधि थप सक्रिय र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
विराटनगरमा प्रज्ञा प्रतिष्ठानको आफ्नै कार्यालय, संस्थागत विकासमा जोड










