सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको छ। आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलर आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।
२ मिनेटभन्दा लामो ट्रेलरले पारिवारिक सम्बन्ध, भावनात्मक उतारचढाव र पुस्तागत सोचबीचको टकरावलाई गहिराइमा देखाउने प्रयास गरेको छ। ट्रेलरमा अभिनेत्री आँचल शर्मालाई केन्द्रमा राख्दै एक संयुक्त परिवारको कथा प्रस्तुत गरिएको छ, जहाँ विवाहको तयारीको रमझम चलिरहे पनि बेहुली बन्ने युवतीको अनुहारमा खुशीको अभाव स्पष्ट देखिन्छ। कथानक अघि बढ्दै जाँदा एउटा अप्रत्याशित घटनाले परिवारभित्र द्वन्द्व सिर्जना भएको संकेत ट्रेलरले दिन्छ। यसले व्यक्तिगत चाहना र पारिवारिक अपेक्षाबीचको संघर्षलाई मुख्य विषयवस्तुका रूपमा उठाएको देखिन्छ।
फिल्ममा आँचल शर्मासहित निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। विशेषतः नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा करिब तीन दशकपछि यही फिल्ममार्फत अभिनयमा फर्किएकी छन्।
गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा अभिमन्यु दीक्षित निर्माता तथा निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। निर्माण टिममा जर्मनीका सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल पनि आबद्ध छन्।
प्राविधिक पक्षमा पनि फिल्म अन्तर्राष्ट्रिय सहकार्यसहित तयार भएको छ। थाइल्यान्डको ह्वाइट लाइटले कलर ग्रेडिङ गरेको फिल्ममा भियतनामकी लिन्ह डान गुयेन फानको छायांकन तथा भारतकी दीपा भाटियाको सम्पादन रहेको छ। ट्रेलरले उठाएको विषयवस्तु र भावनात्मक प्रस्तुतीका कारण ‘एक मुठ्ठी बादल’ ले दर्शकमाझ उत्सुकता बढाएको छ। अब फिल्मले पर्दामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको देखिन्छ।










