काठमाडौं– धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् । नेपालले नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले सो रेकर्ड तोड्ने घोषणा गरेकी हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफु तयार रहेको विश्वास दिलाईन् । नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाइन् ।

उनले भनिन्,‘म सानैदेखि नृत्य कर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क छु, तरपनि सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर यस कर्ममा होमिन चाहन्छु र मलाई यो उद्देश्य पूरा गर्नको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा पनि गर्न चाहन्छु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित् चेल्सी इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफुमा सानैदेखि गीत, संगीत र नृत्यमा विषेश रुची रहेको पनि सुनाईन् । बन्दनाले थपिन्,‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

बन्दनाले भनिन्,‘यूवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक तथा दोहोरी गीत एवम् नेपाली लोक संगीतप्रतिको बितृष्णाप्रति मेरो यो प्रयास योग्य सावित हुने आशा लिएकी छु, नेपाली लोक संस्कृतिलाई विश्वमा चिनाउने र नेपाललाई विश्वमा परिचित गराउने एउटा भगिरगथ प्रयासमा साथ, सहयोग, हौसला र माया गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल र नेपाली संस्कृतिलाई विश्वमा चिनाउने बन्दना नेपालको प्रयास सफल भएरै छोड्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया