चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले इटहरीमा आफ्नै कार्यालय स्थापना गर्दै औपचारिक रूपमा उद्घाटन गरेको छ। बुधबार आयोजित कार्यक्रममा नेपाली चलचित्र ‘मालती मंगले’को टिमले संयुक्त रूपमा कार्यालय उद्घाटन गर्दै शाखाको नयाँ यात्रा सुरु गरेको हो। उद्घाटन कार्यक्रममा कलाकार विजय बराल, वर्षा राउत, गायक तथा निर्माता रामकृष्ण ढकाल, मेक्सम गौडेल र गायिका सलिना बिक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले संयुक्त रूपमा बोर्ड अनावरण गर्दै कार्यालयको शुभारम्भ गरेका थिए।

नवनिर्वाचित अध्यक्ष सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएसँगै शाखाले आफ्नै कार्यालय स्थापना गरेको हो। इटहरीको पश्चिम लाइन, ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको उक्त कार्यालयले अब पत्रकारहरूलाई स्थायी कार्यस्थल प्रदान गर्नेछ। कार्यक्रममा बोल्दै रामकृष्ण ढकालले चलचित्रकर्मी र पत्रकारबीचको सम्बन्धलाई नङ र मासुजस्तै घनिष्ठ बताउँदै शाखाको आफ्नै कार्यालय स्थापना हुनु सकारात्मक र आवश्यक कदम भएको धारणा राखे। उनले आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कलाकार विजय बरालले यो कार्यालय चलचित्रकर्मीहरूबीच भेटघाट र सहकार्यको केन्द्र बन्ने विश्वास व्यक्त गरे भने अभिनेत्री वर्षा राउतले मोफसलमा पनि यस्तो संरचना निर्माण हुनु गर्वको विषय भएको बताउँदै पत्रकारहरूलाई बधाई दिइन्। यसैगरी, संघका पूर्व उपाध्यक्ष जीवन पराजुलीले मोफसलका पत्रकारहरूको एकता उदाहरणीय रहेको उल्लेख गर्दै सुनसरी शाखाको सक्रियताको प्रशंसा गरे। केन्द्रीय सदस्य नरेन्द्र बस्नेतले पनि कोशी प्रदेशका शाखामध्ये सुनसरीले आफ्नै कार्यालय स्थापना गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए।
कार्यक्रमका सभापति तथा शाखा अध्यक्ष सुवास संकल्प श्रेष्ठले आफू निर्वाचित भएपछि पहिलो प्राथमिकता नै कार्यालय स्थापना रहेको स्मरण गर्दै उक्त लक्ष्य पूरा गर्न सफल भएकोमा खुशी व्यक्त गरे। उनले सुनसरीलाई चलचित्रकर्मीहरूको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको र त्यसका लागि सबैको सहकार्य आवश्यक रहने बताए।










