मदनकृष्ण सिलवाल
काठमाडौँ, फागुन २१
। हिन्दूहरुको महान् पर्व शिवरात्रीको पावन अवसरमा बौद्ध रामहिटीअवस्थित वाचस्पतिन्द्रेश्वर महादेवस्थान परिसरमा धार्मिक अनुष्ठान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा फागुन २० गते स्थानीयबासीहरुको सक्रियतामा पुरानो पाटीको जीर्णोद्धार गरी उद्घाटन समेत गरिएको छ ।
वाचस्पतिन्द्रेश्वर सेवा समाजले आयोजना गरेको एक कार्यक्रमबीच वाचस्पतिन्द्रेश्वर महादेव परिसरमा नव निर्मित भवनको आचार्य पण्डित ऋषिकेश भट्टराई र स्थानीय जेष्ठ शिक्षासेवा तथा समाजका पूर्वअध्यक्ष अमिर थापाले संयुुक्त रुपमा उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतथि पण्डित ऋषिकेश भट्टराईले स्थानीय मठमन्दिर र जीर्ण पाटीपौवाहरुको संरक्षणको निम्ति स्थानीयबासीहरुले पु¥याउने भएको योगदानको खुलेर प्रशंशा गर्दै आगामी दिनहरुमा समेत सक्रिय रुपमा सहभागिता हुनको लागि अनुरोध गर्नुभयो ।
विशेष अतिथि स्थानीयवासी शिक्षाप्रेमी एवं समाजका पूर्वअध्यक्ष अमिर थापाले विश्व सम्पदतासूचीमा सूचीकृत बौद्ध नजिकै रहेको यस वाचस्पतिन्द्रेश्वर महादेवस्थान ऐतिहासिक सम्पदाहरु भएको कारण यसको जगर्नेका निम्ति हामी स्थानीयबासीहरुले होस्टेमा हैँसे गर्नुपर्ने धारणा राख्दै सहयोगी सबैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।
त्यस्तै, सो अवसरमा वाचस्पतिन्द्रेश्वर महादेवस्थानको संरक्षणको लागि स्थानीवासीहरु कटिवद्ध भएर लागिपनुपर्ने धारणा समाजसेवी देवकुमार लामा, समाजसेवी रामप्रसाद सिग्देल, काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडा सदस्य नरेन्द्र थापा लगायतले राख्नुभएको थियो ।
सो अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. ६ का वडा सदस्य नरेन्द्र थापा, वाचस्पतिन्द्रेश्वर महिला समाजका अध्यक्ष यशोदा भट्टराई, देवकुमार लामा, रामप्रसाद सिग्देल, उद्धव थापा, राजकाजी थापा, शम्भुविक्रम थापा, सुशील थापा, सुनिल थापालगायत स्थानीयवासी धार्मिक एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष मेजर दुर्गाबहादुर थापाले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो थियो भने संस्थाका पूर्व कोषाध्यक्ष मोहनराज ढुंगानाले भवन निर्माण गर्दाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा पाटी निर्माण कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई सम्मानीत गरिएको थियो ।
वाचस्पतिन्द्रेश्वर महादेवस्थान र यहाँ रहेको कच्ची पाटीको जीर्णोद्धार गरी हाल पक्की पाटी निर्माण गरिएको छ । संस्थाले उक्त पाटी निर्माण गर्नको लागि वि.सं. २०६६ सालमा आचार्य प्रमुख वाचक पण्डित ऋषिकेश भट्टराईको अगुवाईमा श्रीमद्भागमद् महापुराण समेतको आयोजना गरेको थियो । महापुराणबाट उठेको रकम तथा अन्य स्थानीय संघसंस्था तथा व्यक्तिहरुको सहयोगबाट हाल सो पाटीको निर्माण कार्य सम्पन्न भएको हो ।
साथै वाचस्पतिन्द्रेश्वर महादेवस्थान सेवा समाजले पाटी निर्माण र पूजाआजाको निम्ति स्थानीयबासीहरुबाट आर्थिक सहयोग समेत संकलन गरेको थियो । अहिले संस्थाले नित्य पूजाआजा र वाचस्पतिन्द्रेश्वर महादेवस्थानमा विविध धार्मिक तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्नको लागि आजीवन सदस्यता वितरण तथा मुठ्ठीदान अभियान समेत सञ्चालन गर्दै आएको छ । पार्टीमा हाल धार्मिक तथा सामाजिक कार्यहरुका अतिरिक्त क्रियापुत्रीको व्यवस्थापन समेत गर्दै आएको वाचस्पतिन्द्रेश्वर महादेवस्थान सेवा समाजका अध्यक्ष गोपालबहादुर ढुंगानाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया