एजेन्सी । बलिउडकी अभिनेत्री तापसी पन्नु यति बेला हिन्दी सिनेमाकी उत्कृष्ट अभिनेतृहरु मध्येकी एक हुन् । यस कुराको पुष्टि गर्न तापसीसँग दर्शकको साथ र राम्रा फिल्महरु त छन् तर उनीसँग कुनै अवार्ड छैन ।

हालै तापसीले यस विषयमा कुराकानी गर्दै भनेकी छिन्, ‘पहिले मलाइ अवार्ड पाइन भनेर दुख लाग्थ्यो । म सोचिरहन्थे कि मैले किन अवार्ड पाइन ? मलाई लाग्थ्यो कि शायद मैले कमर्सियल फिल्म गरेकी छैन त्यसैले अवार्ड पाइन । पछि मैले ‘जुडवा २’ मा अभिनय गरेँ । त्यसपछि पनि कसैले मलाई अवार्डका लागि लायक नै सम्झिएनन् । अब त मैले ठानिसकेँ कि शायद मैले गरेको कामका लागि सम्मान पाउनु मेरो भाग्यमै छैन । त्यसैले मैले आशा गर्न पनि छोडिसकेँ ।’

अभिनेत्री तापसी पन्नु अहिले फिल्म ‘बदला’ मा उनले गरेको अभिनयका कारण चौतर्फी प्रसंशा बटुलिरहेकी छिन् । अघिल्लो वर्ष तापसीले फिल्म ‘मुल्क’ र ‘मनमर्जियाँ’ बाट पनि अभिनयका कारण चर्चा बटुलेकी थिइन् । तापसीले यस अघि फिल्म ‘शबाना’ र ‘पिंक’ मार्फत पनि दर्शकको मन जित्न सफल भएकी थिइन् । तर उनले आफ्नो अभिनयकै लागि भने कुनै अवार्ड पाएकी छैनन् ।

बलिउड फिल्म उद्योगमा दिइने अवार्डहरुका विषयमा तापसी पन्नुले मात्रै नभइ अन्य कलाकारहरुले पनि प्रश्न उठाउने गरेका छन् । तीमध्ये अभिनेता आमिर खान र अभिनेत्री कंगना रनावतले त झनै अवार्ड कार्यक्रममा सहभागी हुन नै अस्वीकार गरिदिएका छन् ।

तपाईको प्रतिक्रिया