काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाल चलचित्र निर्माता संघको सहकार्यमा नयाँ वर्षको अवसरमा चियापान समारोह तथा चलचित्र क्षेत्रका बेथिती विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमूख अतिथ्यतामा राजधानीको धुम्बाराही स्थित स्काई पार्टि भेन्युमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले नव नियुक्त विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन पनि गरेका छन् । साथै बर्ष २०७५को समिक्षगत अवधारण पनि कार्यक्रममा संयोजक तथा चलचित्र पत्रकार संघका सचिव समीर बलामी प्रस्तुत गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै विकास बोर्डका अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताए । चलचित्र निर्माण, वितरण र प्रदर्शन मा धेरै समस्या भएको उनले स्विकारे । त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण संभव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम चलचित्र नीतिलाई सरकारबाट पारित गराउने रहेको बताए । जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितीहरुको वारेमा समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रुपमा समाधान खोज्न सक्छौं अध्यक्ष भट्टराईले भने ।
हामी विभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याहरुको वारेमा छलफल गर्छौं, समस्या निकाल्छौं तर समाधान गर्न सक्दैनौं । त्यसैले अब चलचित्र नीतिले मात्रै समाधान खोज्ने हुदाँ नीति पास गराउन सबै चलचित्रकर्मीहरु एकतावद्ध तरिकाले लाग्नुपर्ने उनको धारणा थियो । साथसाथै अध्यक्ष भट्टराईले आउँदो आर्थिक वर्ष भित्र देशैभर बक्स अफिसको परिक्षण गरिने बताए । बक्स अफिस परिक्षण पश्चात पूर्ण कार्यन्वयनतिर आफु अग्रसर हुने पनि उनले बताए ।
यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधान तिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताएका छन् । उनले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसँग सम्झौता भएपनि त्यो कार्यान्वयन नभएको बताएका हुन् । सम्झौता कार्यन्वयन गर्न चलचित्र संघ हच्किएको देखिन्छ, वितरकसँगको सम्झौता पत्रमा पनि उल्लेख भए अनुसारको कार्यान्वयन हुदैन अध्यक्ष अधिकारीले भने । उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताएका छन् । कलाकारले आफुलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचार्यदेखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारश्रमिकको माग गर्नु जस्ता समस्याहरु कलाकारमा रहेको उनले बताएका हुन् । वितरण र प्रदर्शनको समस्यामा निर्माता मारमा परेको उनले बताए । त्यसको जिम्मेवार निकाय वितरक र चलचित्र संघले यस विषयमा सोच्नुपर्ने बताए । यसमा सहकार्य र समन्वय गर्न विकास बोर्डलाई पनि अधिकारीले आग्रह गरे ।
यता चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले चलचित्र क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे । आफ्नो चलचित्र आउँदा सबै जायज र अरुको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए । आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचारबाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्ने उनले बताए । कलाकारहरुले पनि आफ्नो पारश्रमिक बढि दावी गर्नु गलत रहेको उनको भनाई छ । उनले पारश्रमिक बढि माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्ने दावी गरे ।
प्रदर्शन र वितरणमा देखिएका समस्यामा सबैमा मपाईत्व भएको कारण समाधान नभईरहेको उनले बताए । साझा समस्यालाई सबै चलचित्रकर्मीले आफ्नो समस्या सम्झेर समाधान गर्नुपर्ने उनो तर्क थियो । जबसम्म एकको समस्यामा अर्को चलचित्रकर्मीले साथ र सहयोग गर्न सक्दैन तबसम्म समस्याहरु निराकरण नहुने उनको दावी छ ।
यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले निर्माताहरुले नै गलत समाचार सम्पे्रषण गरिरहेको बताए । आफ्नो चलचित्र लाग्दै गर्दा गलत समाचार र गलत व्यापारको तथ्याङ्क दिने गरेको उनको भनाई छ । हामी पत्रकारको काम सहि सुचना दिने हो । तर सूचना आउने स्रोतबाट नै गलत आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात निर्माताहरुले नै लिनुपर्ने अध्यक्ष सापकोटाले बताएका हुन् । सबै पत्रकार सहि भने पनि हैन । तर, गलत समाचार सम्प्रेषण गर्छ भने त्यसको
ध्यानाकर्षन गराउनु पर्छ । गलत समाचार सम्प्रेषण गर्न निर्माताहरुले नै पत्रकार दिइरहने र समस्या पत्रकारमाथी थुपारिरहने निर्माताहरु सचेत हुनेपर्ने सापकोटाको तर्क थियो ।
यता आधा दर्जन बढि वितरकहरुलाई कार्यक्रमको सन्दर्भ दिएर पटक पटक उपस्थित हुन आग्रह गर्दा पनि वितरकहरु मिडियामाझ आउन डराएको चलचित्र पत्रकार संघका सचिव समीर बलामीले दावी गरेका छन् । सबैलाई पटक पटक आग्रह गरेर कार्यक्रमको वारेमा जानकारी गराउँदा पनि उपस्थित हुने वचन गरेका वितरकहरु उपस्थित नभएको उनले बताएका हुन् । निर्माताको समस्याको वारेमा वितरकमा देखिएका कारणहरुको समाचार बनाउँदा पत्रकारलाई धम्की दिने र सामाजिक सञ्जालमा मनको बह पोख्ने वितरकहरु कार्यक्रममा उपस्थित नहुनुने प्रदर्शन र वितरणमा ठुलो समस्या वितरककै कारण भएको उनको दावी थियो । वितरकहरु मनोज राठी, शुशिल पोखरेल, गोविन्द शाही, प्रचण्डमान श्रेष्ठ, निरक पौडेल, अशोक शर्मा लगायतलाई आमन्त्रण गरिएको चलचित्र पत्रकार संघले जनाएको छ ।
वितरकको रुपमा उपस्थित भएका गोपाल काजी कायस्थाले वितरकहरुमा प्रतिस्पर्धा रहेको बताए । अरुको अस्तित्व स्विकार गर्न नसक्नुले वितरकको राजनीतिमा नेपाली निर्माताहरु मारमा परेको उनले स्विकारे । उनले पछिल्लो समय मनोज राठी र विक्रम पराजुलीका कारण चलचित्र ए मेरो हजुर ३ र यात्रा एक साथ रिलिज भएको बताए । यस्तै समस्या चलचित्र क्षेत्रमा धेरै छ । वितरकहरु आफ्नो मात्रै अस्तित्व रहेको भान गर्छन् । अरुको मतलब राख्दैनन् त्यस कारण निर्माताहरु मारमा परेको हो वितरक गोपाल काजी कायस्थाले भने । सबै वितरकहरु दोषि नभएको उनले बताए । केही वितरकहरु मात्रै यस्तो भएको गोपालकाजीको तर्क थियो ।
कार्यक्रममा कलाकार तथा निर्देशक दिपा श्री निरौलाले समग्र चलचित्र क्षेत्र सबैको साझा भएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताए । एउटाले अर्को लाई असर पार्ने भएकोले १÷२ मात्र चलचित्र नभएर सबै चलचित्र चल्नुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा चलचित्र क्षेत्रका बेथितीहरु वारे धेरै संचारकर्मीहरुले आफ्ना जिज्ञासा राखेका थिए । नेपाली चलचित्र क्षेत्रको लागि २०७५ कालो बर्ष,
एक बर्ष भरि ९७ वटा चलचित्रहरु रिलिजमा ८० चलचित्र डुबानका कारण, बक्स अफिस पूर्ण कार्यन्वयन नहुनुका कारण, निर्माणमा देखिएका समस्या, वितरकहरुले एकै दिन दुई भन्दा बढि चलचित्र जुधाउने समस्या, प्रमोशन र वितरणमा देखिएका समस्या, चारैतिरबाट विदेशी फिल्मले घेर्ने तथा चलचित्र इन्कोड देखि हलमा हुने प्रमोशनमा र केडिएम चार्जमा समेत रहेको समस्याका वारेमा छलफल भएको थियो ।
कार्यक्रममा निर्देशकहरु प्रदिप भट्टराई, दिवाकर भट्टराई, दिपेन्द्र के खनाल, दिनेश श्रेष्ठ, निर्माताहरु उदय सुब्बा, माधव वाग्ले, रोज राणा, अर्जुन कुमार, कलाकार निर्मल शर्मा, चलचित्र पत्रकार संघका पदाधिकारीहरु सहित संचारकर्मी र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया