काठमाडौं। भारतीय रियालिटी शोमा नेपालीको सहभागिता भएको यो पहिलो पटक पक्कै होइन । तर गायकीमा कम उमेरकाले धुम मच्चाएको भने सायद यो पहिलो पटक हुनुपर्छ । यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपमा पुगेका दुई बालक आयुष केसी र प्रितम आचार्यले नेपाल र भारत मात्र नभएर विश्व चकित पारिरहेका छन् ।

केही समयअघि मात्र प्रितमको अडिसन प्रस्तुति देखेर बलिउड सेलिब्रेटीले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा प्रितमको व्यापक प्रशंसा गरेका थिए । सुनिल सेट्टी, रितेश देशमुख र अर्जुन कपूरको ट्वीट्मा प्रितम छाइसकेका छन् । शो मा पाहुना बनेर आएका माधुरी दीक्षित, अनिल कपूर, अजय देवगन, जेकी श्राफ, आलिया भट्टजस्ता बलिउड स्टारले प्रितमको खुलेर प्रशंसा गरेका छन् । यो सिजनको लिटिल च्याम्पमा जज रहेका गायक सान, म्युजिक डाइरेक्टर अमाल मल्लिक र प्रख्यात गायिका ऋचा शर्माले प्रितम र आयुषको गायकीलाई खुलेर समर्थन गर्ने गरेका छन् । ग्रयाण्ड जुरीले पनि उनीहरुको अधिकांश प्रस्तुतिलाई सतप्रतिशत नम्बर दिने गरेको छ ।

प्रितमले पहिलो प्रस्तुतिमै उदितनारायण डाइहर्ट फ्यान भएको बताएका थिए । कार्यक्रम निर्माण टीमले एकदिन उदितनारायणसंग भेट गराइदिने बचन दिएको थियो । गएको हप्ता कार्यक्रममा उदिनारायण झा पाहुना थिए । प्रितमको प्रस्तुति देखेर झा आफू बच्चा हुँदा त्यस्तैगरी गाउने गरेको बताएका थिए । उनले झाको ‘जादू तेरी नजर’ बोलको गीत गाएका थिए । झाले अभिनय गरेको नेपाली फिल्म ‘कुसुमे रुमाल’बारे केही शब्द बोलेर प्रितमले उनलाई उनकै गीत गाउन लगाएर हिरोको अभिनय गर्न आग्रह गरे । उनी आफू पनि मज्जैले नाचे, दर्शकलाई पनि मनोरञ्जन गराए । झाले उक्त फिल्ममा काम गर्दा प्रितम जन्मिएकै थिएनन् । उनको त्यो स्तरको अध्ययन क्षमता र शैलीको यतिबेला सबैले तारिफ गरिरहेका छन् ।

कार्यक्रमको अन्तिममा अर्का नेपाली प्रतिस्पर्धी आयुष केसीले पनि आफ्नो दमदार प्रस्तुति दिए । उनले ‘कुछ कुछ होता है’ बोलको गीत गाएका थिए । केसीको प्रस्तुतीले कायल भएका झाले दुवैजनालाई इंगित गर्दै भने, ‘दुवै मिलेर ब्यान्ड बजाउने भयौ जस्तो छ ।’ सिन्धुपाल्चोकका स्थायी १२ वर्षीया आयुष केसी भक्तपुर बस्छन् । अर्का प्रतिस्पर्धी ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् ।

नेपालमा दुई वर्षअगाडि प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन कार्यक्रम ‘सुरशाला जुनियर आइडल’ मा आयुष प्रथम भएका थिए । सारेगमपले पहिलो चरणमा सुरशाला म्युजिक एकेडेमीमार्फत भिडियोबाट अडिसन लिएको थियो । सुरशाला म्युजिक एकेडेमीका कार्यकारी अध्यक्ष तथा गायक क्षेत्रीका अनुसार तीनवटा भिडियो पठाइसकेपछि उनीहरुलाई सिधै ‘लेभल टु’ को लागि दिल्ली बोलाइएको थियो । दिल्लीमा अडिसन दिन आयुष र प्रितमसँगै अरु ८ जना नेपाली बालबालिका पनि गएका थिए ।

‘लेभल टु’ मा छानिएका आयुष र प्रितम स्टुडियो राउन्डका लागि मुम्बई गएका थिए । त्यसपछि ‘कलिङ राउन्ड’ र ‘मेगा अडिसन’ मा छानिएर उत्कृष्ट ३० मा पुगेका थिए ।

तपाईको प्रतिक्रिया