कमेडी जनराको फिल्म निर्माणमा आफूलाई शक्तिशाली साबित गरेको टिम हो- दीपकराज गिरी र दीपाश्री निरौला । केही वर्ष अगाडिसम्म नेपालमा कमेडी फिल्मलाई हेर्ने नजर फरक थियो । यसलाई दोस्रो दर्जाको फिल्म भन्ने गरिन्थ्यो । यो सोचाईलाई दीपक-दीपाको टिमले गलत साबित गर्‍यो । दशक अगाडिसम्म नेपालमा पूर्ण कमेडीप्रधान फिल्म खासै चलेका थिएनन् । ‘छक्का पञ्जा’ पछि नेपालमा कमेडी फिल्मको बाढी नै लागेको छ ।

अहिले नेपाली दर्शकले अत्याधिक रुचाउने जनरामा पर्दछ कमेडी । तर, आजसम्म कुनै कमेडी फिल्मले समीक्षकलाई भने सन्तुष्ट बनाउन सकेको छैन । न समीक्षकले ‘६ एकान ६’ मनपराए न त ‘छक्का पञ्जा’ को सिरिज । यद्यपि, ‘छक्का पञ्जा ३’ ले उठाएको मुद्धाको भने समीक्षकले मुक्तकण्ठले प्रशंसा गरेका थिए । तर, रेटिङ २ भन्दा माथि उठ्न सकेन । नेपालमा बनेका अरु कमेडी फिल्मले पनि राम्रो रेटिङ पाएका छैनन् ।

रोचक चाहिँ के छ भने समीक्षकले उच्च रेटिङ दिएका धेरैजसो फिल्म बक्सअफिसमा डुबेका छन् । कमजोर रेटिङ पाएका फिल्मले भने राम्रो व्यापार गरेको र दर्शक रिझाएको अवस्था छ । ‘छक्का पञ्जा’ सिरिज यसको उदाहरण हो । सोमवार नयाँ फिल्म ‘छ माया छपक्कै’ को घोषणा सभामा कलाकार, लेखक तथा निर्माता दीपकराज गिरीले आफ्नो फिल्मको रेटिङ बढ्यो भने चिन्ता सुरु हुने बताएका छन् ।

उनी फिल्मको जनरा फरक भए पनि स्ट्रकचर अबलम्बन गर्नैपर्ने बताउँछन् । ‘जुनसुकै जनराको फिल्म बनाए पनि स्ट्रकचर अबलम्बन गर्नैपर्छ’, उनी भन्छन्, ‘विदेशतिर समीक्षकहरुले कमेडी जनराको फिल्मलाई पनि ४ माथि रेटिङ दिन्छन् । नेपालमा कमेडी फिल्म भनेपछि २ भन्दा माथि कहिल्यै चढ्दै चढ्दैन ।’ उनको कुरा सुनेर छेवैमा रहेका ‘छ माया छपक्कै’ का निर्देशक तथा फिल्म समीक्षक दीपेन्द्र लामाले पनि हाँसो रोक्न सकेनन ।

कमेडी फिल्मलाई दोस्रो दर्जाको फिल्म मान्ने सोचाई नराम्रो रहेको दीपकको भनाई छ । उनी कमेडीले भन्न नसकेको र गम्भीर चिजलाई मन्त्रमुग्ध ढंगबाट भन्न सक्ने बताउँछन् । उनलाई लगत्तै पत्रकारले प्रश्न गरे- ‘के त्यसो भए समीक्षकलाई फिल्म निर्देशनको जिम्मेवारी सुम्पिएर रेटिङ बढाउन खोज्नुभएको हो ?’ दीपकले जवाफ दिन समय लगाएनन् । उनले रेटिङ बढाउन नभई फिल्मको व्यापार २० करोडबाट २५/२६ करोड बनाउन खोजेको बताए ।

उच्च रेटिङ पाएका फिल्महरु असफल भएकोतर्फ इशारा गर्दे उनले भने- ‘रेटिङ जति छ त्यति नै ठिक छ । रेटिङ बढ्यो भने चाहिँ मलाई चिन्ता हुन्छ ।’ आफ्नो टिमले मुनाफामा काम गर्ने जोखिम उठाएझैँ नेपालका चलेका कलाकारहरुले पनि यसलाई अबलम्बन गर्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘डेढ करोडको बजेटको फिल्ममा कलाकारमा मात्रै ६०/७० लाख खर्च गर्नुपर्ने हुन्छ । अनि फिल्म कसरी राम्रो बन्छ ? यसैले अब चलेका कलाकारले मुनाफामा काम गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया