हात–हातमा सञ्चार माध्यमको पहुँच भइसकेको वर्तमान अवस्थामा जानकारी अथवा सही सूचनाको अभावमा बर्षेनी सयकडौं महिलाको ज्यान जाने गरेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर तथ्यांक अनुसार यस्तै नियति धेरै महिलाले भोग्नु परिरहेको छ । मातृ मृत्युको प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक मानिन्छ । गर्भपतन सेवा आवश्यक भएका धेरै महिलालाई गर्भपतन सेवा निशुल्क रहेको बारेमा जानकारी नै छैन । यसैले उनीहरु असुरक्षित गर्भपतन गराउन पुग्छन् र उनीहरुको अकालमै ज्यान जाने गरेको छ ।
देशभरीमा १ हजार ३ सय सूचीकृत सुरक्षित गर्भपतन सेवा केन्द्र हुँदाहुँदै सुरक्षित भन्दा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी हुनु ठूलो विडम्बना नै हो । नयाँ तथ्यांक अनुसार ५८ प्रतिशत महिलाले असुरक्षित र ४२ प्रतिशतले मात्रै सुरक्षित गर्भपतन गराउने गरेका छन् । यद्यपि सुरक्षित गर्भपतन सम्बन्धी जानकारी व्यापक रुपमा सञ्चार माध्यमहरुबाट प्रकाशन–प्रसारण हुने गरेका छन् । गर्भपतन सेवा केन्द्रबाट गत वर्ष करिब १ लाख महिलाले गर्भपतन गराएका थिए जसमध्ये ११ प्रतिशत त किशोरी नै थिए । सरकारले गर्भपतन सेवा निशुल्क गरेको छ । औषधि र सामान्य शल्यक्रियाका माध्यमबाट गर्भपतन गराइन्छ । हाल १२ सातामाथिको गर्भपतन सेवा देशका २९ अस्पतालमा उपलब्ध रहेको छ । यति हुँदाहुँदै असुरक्षित गर्भपतन गराउनेको संख्या बढी हुनु र यस कारण कयौं किशोरी युवतीको ज्यान जानु गम्भीर चिन्ताको विषय हो ।
महिलामा असुरक्षित गर्भपतनका कारण विभिन्न रोगको जटिलता आउने गर्दछ । जसले गर्दा उनीहरुले अनेकौं शारीरिक समस्या एवं कष्ट झेल्नुपर्छ । जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा असुरक्षित गर्भपतन रहेको वास्तविकतासमेत हालै सार्वजनिक गरिएको छ । जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालका प्रजनन् उमेरका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्ष मुनिका १७ प्रतिशत गर्भवती हुने गरेका छन् । गत वर्ष नेपालमा करिब १२ लाख महिला गर्भवती भएका थिए । तीमध्ये ४५ प्रतिशत अर्थात ५ लाख ३९ हजार गर्भ अनिच्छत रहेको सार्वजनिक हुनु थप चिन्ताको विषय हो । परिवार नियोजनका विभिन्न साधनहरु हुँदाहुँदै अनिच्छित गर्भधारणको स्थिति सिर्जना हुनु राम्रो होइन । ६० वर्षमा परिवार नियोजनको आधुनिक साधन प्रयोग दर ४३ प्रतशित र पहुँच ५३ प्रतिशतभन्दा माथि उक्लिन नसकेको तथ्यांक प्रकाशमा आएको छ । यसतर्पm पर्याप्त ध्यान पुग्नु आवश्यक छ । यसका लागि यौन शिक्षामा अझै जोड दिनुपर्ने देखिन्छ । सुरक्षित र असुरक्षित गर्भपतनका सकारात्मक एवं नकारात्मक पक्षबारे निरन्तर विस्तृत जानकारी विशेषगरी दुर्गम एवं ग्रामीण महिलालाई गराउनुपर्छ । गर्भपतनलाई लिएर उनीहरुको मन–मस्तिष्कमा रहेको भय, सामाजिक त्रासलाई हटाउनमात्र सके असुरक्षित गर्भपतन गर्नेको संख्या न्यून गर्न सकिन्छ । जसको परिणाम स्वरुप मातृ मृत्युको दुर्भाग्यपूर्ण अवस्था विस्तारै घट्दै जानेछ ।

तपाईको प्रतिक्रिया