काठमाण्डाै – भुटानमा भएको १५औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज स्वागत गरेको छ ।
राखेपका सदस्य सचिव टङ्कलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरमा रहेको राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई दिनुभयो ।
त्यसअघि आजै नेपाली टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका प्रथम उपाध्यक्ष विजयलाल कायश्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजनलगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
भुटानको थिम्पुमा गएको जेठ ३० र ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालबाट तीन पुरुष र दुई महिला गरी पाँच जना खेलाडीको सहभागिता थियो । महिला एथ्लेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । यही स्पर्धामा शीला ठकुरीले रजतपदक जितिन् । पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत र पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटरमुनि अवतार श्रेष्ठले रजत पदक जितेका हुन् । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटरमाथि प्रनिश श्रेष्ठ पाँचौँ स्थानमा रहेका छन् ।
स्वागत कार्यक्रममा सदस्य सचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थुप्रै अन्तर्राष्ट्रिय पदक जितिसकेको बताउनुभयो ।