फिल्म साउथ एसिया २०१९ नामक फिल्म फेस्टिबलको १२ औँ संस्करण बिहीबारबाट सुरु हुँदै छ।
दक्षिण एसियाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६३ वटा डकुमेन्ट्री यस कार्यक्रममा प्रस्तुत हुँदैछ। ‘ह्वेर द माइन्ड इज फ्री’ नारा दिइएको उक्त फिल्म फेस्टिबलमा दक्षिण एसियाका विभिन्न विषय समेटिएका डकुमेन्ट्री छन्।
आयोजक फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितका अनुसार यस फेस्टिबलले वाक स्वतन्त्रतालाई जोड दिनेछ, जुन पत्रकारिता, साहित्य र चलचित्र क्षेत्रका लागि प्रमुख कुरा हो। ‘दक्षिण एसियाभर यस स्वतन्त्रता कुण्ठित हुँदै गरेकोमा नेपाली समाजलाई यस्ता कुरामा खुला र उदार राख्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारी हामीमाथि छ,’ उनले भने।
फिल्म साउथ एसियाको फेस्टिबल निर्देशक मीतु वर्मा भन्छिन्, ‘नेपालले दक्षिण एसियालीहरूलाई एकै ठाउँ आउने र खुला रूपमा स्वतन्त्र छलफल गर्ने मञ्च प्रदान गर्छ। यस्तो अवस्था दक्षिण एसियाका अन्य देशहरूमा निकै न्यून छ।’
फिल्म साउथ एसियाको उद्घाटन नेपाली लोक–रक गायक अमृत गुरुङले गर्ने बताइएको छ। यससँगै ‘इन्दस ब्लुज’ नामक पाकिस्तानी डकुमेन्ट्री देखाइनेछ। उक्त डकुमेन्ट्री लोपोन्मुख पाकिस्तानी लोकसङ्गीत र लोकवाद्यका बारेमा रहेको छ।
फिल्म साउथएसिया सन् १९९७ मा स्थापना गरिएको थियो। काठमाडौँमा प्रत्येक दुई वर्षमा एकपटक यो फिल्म फेस्टिबल आयोजना गरिन्छ।
पाटन ढोकास्थित यलमाया केन्द्रमा उक्त कार्यक्रम चार दिनसम्म चल्नेछ।







































































