वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’ र सर्ट फिल्म ‘टाँक’ निर्माण गरिसकेकी अभिनेत्री प्रियंका कार्की अब फिचर फिल्म निर्माणमा सक्रिय भएकी छन् । उनले निर्माण गरिरहेको नयाँ फिल्म ‘मास्टर्नी’को छायांकन चैत १३ गतेबाट सुरु भइसकेको छ । फिल्मको प्रारम्भिक छायांकन कास्की जिल्लामा गरिएको थियो । तीन दिनसम्म त्यहाँ छायांकन गरेपछि फिल्मको टिम सोमबार काठमाडौं फर्किएको छ । अब बाँकी दृश्यहरूको छायांकन काठमाडौंमै हुने जनाइएको छ ।
‘मास्टर्नी’मा प्रियंका कार्की स्वयं मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै फिल्ममा वरिष्ठ अभिनेत्री गौरी मल्ल, ऋचा शर्मा, आर्यन सिग्देल, अनुप विक्रम शाही र प्रमोद अग्रहरीलगायत कलाकारहरूको अभिनय रहनेछ । प्राप्त जानकारीअनुसार फिल्ममा प्रियंकाको जोडी अनुप विक्रम शाहीसँग बाँधिएको छ ।
आयंका फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा निर्देशकसहित धेरैजसो प्राविधिक टोली भारतीय रहेको बताइएको छ । फिल्मको निर्देशन बंगाली भाषी निर्देशक सुभेन्दु घोषले गरिरहेका छन् ।
सुभेन्दु घोष यसअघि अभिनेता जितु नेपाललाई लिएर बनेको फिल्म ‘आइएम जितबहादुर’का निर्देशक हुन् । सोही फिल्ममा प्रियंका कार्कीले पनि अभिनय गरेकी थिइन् । उक्त फिल्ममा सहकार्य गरेपछि प्रियंकाले आफ्नो निर्माणमा बन्ने ‘मास्टर्नी’ निर्देशनको जिम्मेवारी सुभेन्दुलाई दिने निर्णय गरेकी हुन् । बंगाली फिल्म क्षेत्रमा अनुभवी मानिने सुभेन्दुले सन् २००७ मा ‘अबेलय गरम भाट’बाट निर्देशन यात्रा सुरु गरेका थिए । त्यसपछि उनले ‘भय’ र ‘चेतोना’ जस्ता बंगाली फिल्मका साथै ‘चेज नो मर्सी टू क्राइम’ र ‘मै मुलायम सिंह यादव’ जस्ता हिन्दी फिल्म निर्देशन गरिसकेका छन् । उनले करिब ९ वर्षअघि ‘एभ्रिडे इज सनडे’ नामक नेपाली फिल्म पनि निर्देशन गरेका थिए ।










