काठमाडौं – नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ ।

त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै अलमल छ । पछिल्लो समय बजारलाई केलाउने हो भने धेरैजसो कमेडी फिल्मले लगानी उठाएका छन् । केही लभस्टोरी फिल्मले पनि राम्रै कमाइ गरेका छन् ।

केही फिल्म चले पनि धेरैजसो फिल्म बक्स अफिलसमा असफल हुने गर्छन् ।‍ यसै कारण पनि दर्शक नेपाली फिल्मप्रति भड्किएका छन् ।

अभिनेता दीपकराज गिरीले नेपालमा बन्ने ८० प्रतिशत फिल्म हेर्नु भनेको टाउको दुखाउनु भएको बताएका छन् । खबरहबसँगको कुराकानीमा गिरीले भने, ‘हप्तैपिच्छे रिलिज हुने नेपालका अधिकांश फिल्म हेर्नु भनेको टाउको दुखाउनु नै हो ।’

उनले नेपाली फिल्म थप मेहनत गरेर दर्शकलाई मन पर्ने खालको बनाउनुपर्ने धारणा राखे । नेपाली फिल्म स्तरीय बनाउन सकियो भने विदेशी फिल्मको बजार विस्तारै कम हुँदै जाने उनको भनाइ थियो ।

पछिल्लो समय दीपकराज गिरीलाई फिल्म ‘छ माया छपक्कै’ मा शीर्ष भूमिकामा देखिएको थियो । फिल्ममा उनले युवा कार्यकर्ताको भूमिका निभाएका थिए । दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्मले दर्शकको साथ पाएको छ ।

तपाईको प्रतिक्रिया