सिड्नी- विगत केही समय अघिदेखि सिड्नी वरपर रहेका क्षेत्रमा लागेको डढेलोको धूवाँले असहज बनाएको सिड्नीको मौसमसमेत हिजोआज अलिक खुलेको थियो। प्रवासका विभिन्न परिस्थिति र कामको चाँजोपाँजोलाई मिलाउँदै १४ डिसेम्बर शनिबार साँझ म पनि नेपाली सांगीतिक समूह नेपथ्यको कन्सर्ट हेर्न सिड्नीको लुनापार्कतिर लागेको थिएँ।

साँझ साढे सात बजे कन्सर्टस्थलमा पुग्नासाथ नेपाली दर्शक श्रोताले खचाखच भरिएको लुना पार्क क्षेत्रलाई देख्दा भरपुर आनन्दको अनुभूति त्यसबखत मैले गरेको थिएँ। ओपेरा हाउस र हार्बर ब्रिजसँगै जोडिएको सिड्नीको बिग टप लुना पार्क पनि आज नेपथ्यको सांगीतिक प्रस्तुतीका लागि तम्तयार भएको जस्तो आभास पाइन्थ्यो।

शनिबार साँझ आयोजित नेपथ्यको सिड्नी कन्सर्टमा हलभित्र तीन हजारभन्दा बढी दर्शकहरूले खचाखच भरिएको थियो। स्थानीय कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू पेश गरेर शुरुवात गरिएको सो प्रस्तुतीमा नेपथ्यका सदस्यहरू स्टेजमा आउनासाथ उपस्थित दर्शकश्रोताले स्वागत गर्दै ‘नेपथ्य’को स्वरले पूरै हल गुञ्जायमान बनाएका थिए।

लुना पार्कको त्यस मञ्चमा नेपाली दर्शकश्रोताले नेपथ्यको प्रस्तुतिको भरपुर मनोरञ्जन लिएका थिए। कतिले एक साँझको लागि भए पनि नेपालको तिर्सना मेटे, कतिले फुर्सदको समय सदुपयोग गरे त कतिले नेपाली लोक संगीतको झङ्कारमा रमाउँदै अनि नाच्दै हर्सोल्लासका साथ समय व्यतित गरेका थिए।

सिड्नीको लुना पार्कमा जसले जसरी त्यो साँझ व्यतित गरे पनि ती सबैले प्रवासमा केही क्षणका लागि भए पनि नेपालको न्यास्रो मेटाउँदै नेपथ्यको सांगीतिक प्रस्तुतीमा लट्ठिदै अनि नेपाल आमालाई सम्झिँदै द्रविभूत भएका थिए । सिड्नीको लुना पार्कमा अवस्थित त्यस स्थल शनिबार साँझका लागि नेपाली संगीतको अभूतपूर्व शक्ति र सामथ्र्य प्रदर्शनको साक्षी समेत बन्न सफल भएको थियो । सिड्नी आसपासका क्षेत्रबाट आएका नेपालीले नेपथ्यको त्यस सांगीतिक प्रस्तुतीलाई दिलोज्यानले साथ दिएका थिए ।

नेपालको प्रख्यात सांगीतिक समूह नेपथ्यले सिड्नीमा आफ्नो गीत संगीत पस्केर दर्शक श्रोताको मन जित्न मात्र सफल भएनन्, उनीहरूले केही गहन सन्देशहरू पनि छाड्न सफल भए । शुरुको अस्ट्रेलिया भ्रमणमा आउँदा निकै थोरै नेपाली रहेको अनुभव सुनाउँदै गायक अमृत गुरुङले भने, ‘पहिले त निकै थोरै नेपालीहरू हुनुहुन्थ्यो। अहिले त धेरै हुनु भइसकेको रहेछ। जति भए पनि अनि जसरी बसे पनि एकआपसमा मिलेर बस्नुहोला है!’

यसको प्रत्युत्तरमा उपस्थित दर्शकश्रोताले एकस्वरले ‘हुन्छ’ भनेर हललाई गुञ्जायमान बनाएका थिए। त्यसैगरी प्रवासी नेपालीलाई मातृभूमि सम्झाउँदै नेपथ्य समूहका गायक गुरुङले भने, ‘तपाईंहरू अत्यन्तै सुन्दर र विकसित देशमा आउनुभएको छ। यहाँ सिकेको ज्ञान र सीपलाई आफ्नै देशमा गएर सदुपयोग गर्नुहोला है !’

त्यति मात्र होइन भिजिट नेपाल २०२० को प्रवद्र्धन गर्नका लागि विदेशी साथीहरूलाई सुन्दर नेपालको भ्रमण गर्नदेखि लिएर वीर नेपालीको स्वाभिमान र गाथालाई विदेशी भूमिमा जोगाइराख्न तथा लामो समयदेखि आफ्नो मातृभूमिमा नफर्केका प्रवासीहरूलाई समेत फर्कनका लागि अनुरोध गर्दै गायक गुरुङले हलभित्र खचाखच भरिएका दर्शकहरूलाई उत्साहित गर्दै हौसला दिइरहेका थिए ।

‘नेपालको मौलिक बाजा मादलको धुनलाई नेपालमा मात्रै सीमित गर्ने होइन यसको मीठो धूनलाई वैज्ञानिकीकरण गर्दै विश्वभर चिनाउनु सक्नुपर्दछ । त्यसका लागि प्रवासी नेपालीले अहम् भूमिका खेल्न सक्छन्,’ गायक गुरुङले व्यक्त गरेका यी भावनामा नेपालको संगीत र कलाप्रतिको गहिरो मोह र प्रेम छचल्किरहेको थियो।

सिड्नीमा यस वर्ष नेपथ्य कन्सर्टका शत प्रतिशत टिकट ‘अनलाइन’ बाटै विक्री भएर नयाँ रेकर्ड कायम समेत हुन पुगेको थियो।

छैटौंपटक सिड्नीमा आफ्नो सांगीतिक प्रस्तुत पस्किन आएका नेपथ्य समूह प्रवासमा सबैभन्दा बढी दर्शकहरू माया गर्ने सहरका रूपमा पनि आफूलाई स्थापित गर्न सफल भए । अस्ट्रेलियामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने यो सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुती दिएका थिए । त्यसयता ब्याण्डले अस्ट्रेलियामा पाँचपटक यात्रा गरिसकेको छ।

नेपथ्यले पाँच पटकसम्म आफूलाई प्रस्तुत गरेको नेपालकै सहरहरूमा पनि केवल काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा र धनगढी मात्र रहेको अवस्थामा मुलुकबाहिर सिड्नी पनि बन्न पुगेको छ ।

‘यो वर्ष नेपथ्यलाई हामीले निम्त्याउन पाउँदा असाध्यै गौरव महसुस भएको छ’, संस्थाका तर्फबाट यस सांगीतिक यात्राका संयोजक दिपेश पुनले भने, ‘सिड्नी बाहेकका सहरहरुको आयोजनामा सघाउने सम्पूर्ण स्थानीय आयोजकहरुलाई म धन्यवाद पनि दिन चाहन्छु।’

‘सुन्दर भविष्य निर्माण गर्न होस् या दुई छाकको जोहोका खातिर नै किन नहोस् विदेशिन बाध्य नेपालीले यसरी एक दिनका लागि भए पनि आफ्नो देश, माटो, संगीत र धुनसँग साक्षत्कार गर्न पाउँदा निकै गर्वको अनुभूति हुने रहेछ,’ सांगीतिक प्रस्तुती हेर्न र सुन्न आएका सिड्नीको अबर्ननिवासी राजेश श्रेष्ठले भने।

सिड्नीको पश्चिमी क्षेत्रमा पर्ने पेनरिथदेखि आएका अर्का संगीतप्रेमी निराजन शर्माले भने, ‘सानैदेखि नेपथ्यको गीत र संगीत सुनेर हुर्केको हुनाले मेरो अत्यन्तै प्रिय सांगीतक समूह नेपथ्य हो । यो कन्सर्टका लागि मैले लामो समयदेखि पर्खेर बसेको थिएँ अनि काममा विदा समेत मिलाएको थिएँ । यहाँ आउँदा नेपालकै कुनै ठाउँमा बसेर सांगीतिक प्रस्तुती हेरेको जस्तो अनुभूति भयो । यो प्रवासी नेपालीको लागि खुशीको कुरा हो ।’

नेपाली टच अस्ट्रेलियाले संयोजन गरेको नेपथ्यको अस्ट्रेलिया टुर नोभेम्बर १९ तारिखमा ब्रिसबेनबाट शुरु भएर डार्विन, एडिलेड, होबार्ट, सिड्नी हुँदै डिसेम्बर २३ तारिखमा मेलबर्नमा गएर समापन हुँदैछ । नेपथ्य समूहको अस्ट्रेलिया टुरमा मुख्य गायक अमृत गुरुङ, ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझी रहेका छन् ।

तपाईको प्रतिक्रिया