ट्वीनी गल्र्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले पहिलो पटक चलचित्रको गीतमा नायक सुशील श्रेष्ठसँग कम्मर मर्काएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रिज्मा–प्रिन्सी फिचर गरिएको चलचित्र ‘लभ डायरिज’ को गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा शब्द, संगीत तथा एरेन्ज अर्जुन पोखरेलको रहेको छ । फिल्मको कथावस्तु अनुरुप नै एक लोकदोहोरी गीत ‘लभ डायरिज’ मा समावेश गरिएको छ । सार्वजनिक ‘छम छम’ बोलको गीतमा सुरेश लामा र दुर्गा खरेलको स्वर समावेश छ भने लोकगीतमा पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी बाल गायिका कमला घिमिरेको स्वर रहेको छ ।

भाइरलको पछि किन लागेको भन्ने प्रश्नमा संगीतकार अर्जुनले भने, ‘ म भाइरलको पछि लागेको छैन । कमला घिमिरे बहिनीमा प्रतिभा छ । म प्रतिभाको पछि लागेको हुँ । ’ यता प्रिज्मा र प्रिन्सीले पहिलो पटक चलचित्रको गीतमा आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै सुटिङपल सम्झिए । ‘एक गीतको लागि ३ दिन सुटिङ गरेका थियौ । कोरियोग्राफर प्रविन सिंहले हामीलाई रिहर्सल गराउँदा नाच्दा नाच्दा खुट्टा नै दुखेको थियो’, प्रिज्मा र प्रिन्सीले एकसाथ भने । भाइरल भनेकोमा असन्तुष्टि जाहेर गर्दै यि दुईले भाइरल केही समय पछि बिलय हुने भन्दै आफूहरु लामो समय सम्म कला क्षेत्रमै रहने हिसाबले आएको बताए । नायक सुशीलले चलचित्रको टिम सशक्त भएका कारण रिजल्ट राम्रो आउनेमा विश्वस्त रहेको बताए । तथापी फिल्म असफल भए त्यसको श्रेय आफू लिन तयार रहेको उनको भनाइ थियो ।

यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । बिनोद सापकोटा निर्मित यो चलचित्र आगामी प्रेम दिवस अर्थात फागुन २ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्देशक सौरभले ट्रेण्ड अनुरुप नै फिल्मको प्रचार प्रसारलाई व्यापक बनाउने हेतुले प्रिज्मा–प्रिन्सी र कमला घिमिरेलाई चलचित्रमा आबद्ध गराएको बताए ।

सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालको प्रमुख भूमिका रहेको ‘लभ डायरिज’ मा मधु बास्तोलाको पटकथा तथा संवाद, सन्जय लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र प्रेमकथामा आधारित छ ।

तपाईको प्रतिक्रिया