काठमाडौं। अभिनेता सुशील श्रेष्ठको पहिलो चलचित्र ‘होस्टल रिटर्न’ निकै सफल भयो । यो चलचित्रमा अभिनय गर्दा उनले राम्ररी अभिनय पनि सिकेका थिएनन् । नजानेरै राम्रो फिल्म दिएका सुशीलको त्यसपछि तीनवटा चलचित्र व्यावसायिक रूपमा असफल भएका छन् ।

चलचित्र असफल हुनुको जिम्मा यतिबेला सुशीलले नै लिएका छन् । उनको पछिल्लो फिल्म ‘बादशाह जुट’ गत १५ कात्तिकमा रिलिज भएको थियो । यो फिल्म पनि व्यावसायिक रूपमा त्यति सफल भएन । उनको अर्को नयाँ चलचित्र ‘लभ डायरिज’ आगामी २ फागुनबाट रिलिज हुँदै छ । एकपछि अर्को

गर्दै तीनवटा चलचित्र असफल हुनुको कारणबारे उनले सोमबार सञ्चारकर्मीसँग भने, ‘हुन त कुनै पनि फिल्म राम्रो हुनु र नहुुनमा एउटा टिमको जिम्मेवारी हुन्छ । तथापि, म सम्बन्धित चलचित्रको मुख्य नायक भएकै कारण फिल्म सफल हुनुको जिम्मा आफैं लिन्छु ।’

चलचित्र कारखाना असफल भएपछि दुई वर्ष अभिनयबाट हराएका अभिनेता सुशीलले भने, ‘मैले केही समय रेस्ट लिएर आफूलाई नयाँ रूपमा प्रस्तुत गर्न खोजें । त्यसैका लागि दुई वर्ष फिल्म नखेली अहिले नयाँ फिल्म लभ डायरिज खेलेको हुँ ।’

सौरभ चौधरी निर्देशित लभ डायरिज गत ३ असोजमा रिलिज हुने तय भएको थियो । त्यतिबेला रामबाबु गुरुङको नयाँ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएपछि निर्माता विनोद सापकोटा र निर्देशक सौरभले वितरकसँग मिलेर यो फिल्म आगामी २ फागुनका लागि सारेका हुन् ।

फिल्ममा आफू र नवनायिका रुविनासहित सबैले निकै मिहिनेत गरेकाले चलचित्र लभ डायरिज चल्नेमा आफू विश्वस्त रहेको अभिनेता सुशील श्रेष्ठले बताएका छन् ।

सोमबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रका दुई गीतको भिडियो सार्वजनिक गरियो । यी भिडियो चलचित्र लभ डायरिजको प्रोमोसनका लागि तयार गरेर बजारमा ल्याइएको निर्माण पक्षले बताएका छन् ।

यसै विषयमा अभिनेता सुशीलले भने, ‘अहिलेको अवस्थामा भाइरल भएका कलाकारबाट फिल्मको प्रचार राम्रो हुने भएकाले उनीहरूलाई राखेर गीत तथा भिडियो बनाइएको हो । यसले फिल्मको प्रचारमा फाइदा पुग्ने विश्वास लिएका छौं ।’

‘छम छम’ बोलको यो गीत चलचित्रमा एउटा विवाहको पार्टी समारोहलाई लक्षित गरेर तयार गरिएको छ । जहाँ अभिनेता सुशीलसहित अभिनेत्री रुविना थापा, विश्वजित रिमाल, टिकटकमा देखिने केही कलाकारले नृत्य गरेका छन् ।

तपाईको प्रतिक्रिया