काठमाडौं । केही वर्षअगाडि नायक राजेश हमाल एउटा म्युजिक भिडियोमा देखिए । भारतीय गजल गायक जगजित सिंहको स्वर रहेको नेपाली गजल ‘कुन माया सदर भो’ को भिडियोमा राजेशले अभिनय गरे । भिडियोसँगै समाचार पनि सार्वजनिक भयो– राजेशको यो नै ‘फस्ट एन्ड लास्ट’ म्युजिक भिडियो हो ।

सिने कलाकार न परे । बोलीमा किन अडिन्थे । हिजोको बोलीसँग आज मिल्दैन । आजसँग भोेलि । राजेश म्युजिक भिडियोमा बाक्लै त देखिएनन् । तर फाट्टफुट्ट उनले म्युजिक भिडियोमा खेल्न छोडेनन् । लोकराज अधिकारीको गीत ‘मैले चोट खाँदा…’ दीपक शर्माको ‘चट्ट बसम् देउरालीमा…’, हीरादेवी श्रेष्ठको ‘जिन्दगी…’ बोलको गीतमा राजेशले अभिनय गरेका छन् । राजेशले ‘सकुन्तला’ पछि कुनै पनि चलचित्रमा काम गरेका छैनन् । मेला महोत्सवमा ब्यस्त उनले ‘को बन्छ करोडपति’ को होस्ट गरेका थिए ।

राजेश हमालकै समकालीन करिष्मा मानन्धर पनि चलचित्रमा काम नगरी बसेकी छन् । डा. बाबुराम नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट पनि अलग भइसकेकी छन् । उनले पनि एउटा म्युजिक भिडियोमा अभिनय गरिन् । ‘चट्ट बसम देउरालीमा’ मा करिष्मा राजेश हमालसँगै भिडियोमा देखिन् । राजेश र करिष्माको यो लामो समयपछिको सहकार्य पनि थियो । करिष्माले चलचित्र ‘जात्रै जात्रा’ को प्रोमोस्नल गीत ‘माया पिरिम…’ मा पनि अभिनय गरेकी छन् । करिष्मा यो चलचित्रमा कलाकारको रूपमा छैनन् । निर्देशकबाट अभिनेतामा परिणत भएका निश्चल बस्नेत पनि म्युजिक भिडियोमा देखिन्छन् । ‘जात्रै जात्रा’ को गीत ‘माया पिरिम…’ मा देखिएका उनी चलचित्र ‘पर्व’को ‘काले दाइ’मा पनि नाचेका थिए ।

निश्चल महेश काफ्लेको गीत ‘नाच फिरिरी’मा पनि छन् । ‘नाच फिरिरी’मा निश्चलसँगै छिन्, स्वस्तिमा खड्का । उनी अहिले नेपाली चलचित्रमा पहिलो रोजाइकी नायिका मध्येकी एक हुन् । तर, उनले पनि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । यद्यपि उनी अहिले निकै चुजी भएकी छन् । चलचित्रमै व्यस्त उनले केही समय अगाडि बाबु बोगटीको गीत ‘टिकुली…’मा अभिनय गरेकी थिइन् । अहिले युट्युबको एक नम्बर ट्रेन्डिङमा ‘कैले भेट्ने खै…’ बोलको गीत छ । यो गीतको भिडियोमा छन्, नाजिर हुसेन र शिल्पा मास्के । यी दुवै चलचित्रमा शीर्ष भूमिकामा अभिनय गरिसकेका कलाकार हुन् । नाजिरले दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् भने शिल्पाले पनि ‘ब्रेक अप’ र ‘कागज पत्र’ लगायत चलचित्रमा नायिकाको भूमिकामा अभिनय गरिसकेकी छिन् ।

पल शाह, पुष्प खड्का, शिल्पा पोखरेल, केकी अधिकारी, वर्षा राउत म्युजिक भिडियोको बाटो हुँदै रजतपटमा प्रवेश गरे । सेतो पर्दामा राम्रो प्रभाव पनि राखे । तर उनीह्रूले म्युजिक भिडियोमा काम गरिरहेका छन् । ‘नाईं नभन्नू ल’बाट रङ्गीन दुनियामा प्रवेश गरेकी आँचल शर्मा चलचित्रमा भन्दा म्युजिक भिडियोमा धेरै देखिन्छिन् । पल शाहसँग उनले थुप्रै म्युजिक भिडियोमा सहकार्य गरिन् ।

प्रियंका कार्की फ्यान फलोइङका हिसाबले होस् अथवा चर्चाका हिसाबले रोजाइका नायिका मध्येकै हुन् । दर्जनौं चलचित्रमा अभिनय गरेकी प्रियंका पनि म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छन् । नायक धीरेन शाक्य पनि म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उनी विशेष गरी लोक दोहोरीका भिडियोमा देखिन्छन् । विष्णु माझी र विमल डाँगीको ‘आकाशैको जुनतारालाई…’, रामजी खाँड र मुना थापा मगरको ‘यो संसारको रित…’ मा पनि धिरनलाई देख्न सकिन्छ ।

सुरक्षा पन्त पनि म्युजिक भिडियोमा अभिनय गर्ने मध्येकी नायिका हुन् । कुलेन्द्र विक र सरिता कार्कीको ‘लाउँछ माया’ बोलको गीत तथा विष्णु माझी र पीताम्बर जीसीको ‘छिपछिपे पानीमा…’ सुरक्षाले अभिनय गरेकी छन् । आकाश श्रेष्ठ र पूजा शर्मा पनि चलचित्रसँगै म्युजिक भिडियोमा बाक्लै रूपमा देखिने नायक–नायिका हुन् ।

क्यासेट, सीडीबाट गीत युट्युबमा सिफ्ट भएपछि सिङ्गल ट्रयाक रिलिज हुन थाल्यो । सिङ्गल ट्र्याकमा आएपछि अधिकांश गीत युट्युबमा रिलिज हुन थालेका छन् । गीत रिलिज र स्रोता तथा दर्शकसामु पुग्ने माध्यम युट्युब बनेपछि गीत सुन्नेमात्रै नभएर हेर्ने पनि भयो । गीत हेर्ने पनि बनेपछि रेकर्ड भएका गीतको ८० प्रतिशत गीतको म्युजिक भिडियो निर्माण हुने गरेको गायक हेमन्त शर्मा बताउँछन् ।

एक वा बढीमा दुई दिनमा म्युजिक भिडियोको छायाङ्कन सकिन्छ । थोरै समय दिए पनि पुग्ने र राम्रै पारिश्रमिक पाउने भएपछि नायक÷नायिका ठूलो पर्दासँगै सानो पर्दामा आकर्षित भएका हुन् । करिष्माले ‘जात्रा’को गीतमा २ लाख रुपैयाँ पारिश्रमिक लिएकी थिइन् । अन्य नायक–नायिका ३० देखि ८० हजारसम्म पारिश्रमिक बुझ्ने गरेका छन् ।

Sorce :baahrakhari.com

तपाईको प्रतिक्रिया