काठमाडौं : गायिका सरिता भारती र गायक रामकुमार बस्नेतले नयाँ गीत ‘लुडो र तास’ श्रोता दर्शकमाझ ल्याएका छन्। नयाँ वर्ष, २०२० को अवसर पारेर यो गीतको भिडियो ‘ब्युटी न्युज नेपाल’ को च्यानलबाट रिलिज गरिएको हो।

यसअघि लोक पपगीत मेरो जवानी ल्याएर विभिन्न अवार्डसमेत जितेकी सरिताको लुडो र तास पहिलो लोकदोहोरी गीत हो। गायिका सरिता र गायक रामकुमारको यो लोकदोहोरी गीत समाजमा रहेका विकृति विसंगतिविरुद्ध तयार गरिएको गीत हो। नेपाली युवा नेताकै कारण बेरोजगार भएपछि उनीहरूको दैनिकीलाई व्यंग्य गरेर यो गीत तयार गरिएको छ। गीतको भिडियो हास्यप्रधान बनेको छ।

यो गीतमा अलिफ खानको संगीत रहेको छ। माल श्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई प्रदीप कँडेलले लेखेका हुन्। भिडियोको निर्देशन गायक रामकुमारले नै गरेका हुन्। टंक केसीको छायांकन, तार्जन खड्काको सम्पादन रहेको छ। यो गीतको भिडियोमा गायिका सरिता आफैं मुख्य भूमिकामा छिन्। सरितासहित रामकुमार खत्री, मनीषा लोकान्द्री, कुमार खत्रीलगायतको अभिनय छ।

मोडलिङको हिसाबले सरिता भारतीको यो पाँचौं म्युजिक भिडियो हो। यसअघि उनले मुटुमा तिमी मेरो (आधुनिक), तिम्रो आँखामा (आधुनिक), हे बैजु (देउडा), सहर आएपछि (लोकदोहोरी), मेरो जवानी (पप आधुनिक) जस्ता गीतको भिडियोमा मोडलिङ गरिसकेकी थिइन्।

तपाईको प्रतिक्रिया