काठमाडौं । फोटो जर्नलिस्ट (पिजे) क्लब, नेपालले विगत ७ वर्षदेखि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले आइतबार राजधानीमा एक समारोहबीच ‘नेपाल फोटो कन्टेस्ट २०७६ को घोषणा गरेको हो ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका हुन् । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको सुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आइतबारबाटै फोटो दर्ता गराउन सकिने आयोजक पक्षले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबै खाले स्वदेशी फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । खेलकुद विधामा नेपालबाहिर खिचिएको तस्बिर समावेश गराउन पाइनेछ । दर्ता प्रक्रिया १७ माघमा सकिने पनि आयोजक पिजे क्बलले जनाएको छ ।

सोही कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष ढकालसहित ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रबन्धक सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रबन्धक रमेश थापा, मनराम ग्रुपका संरक्षक मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष विकास कार्कीले नेपाल ल्यान्ड अफ कन्ट्रास्ट फोटो पुस्तकको विमोचन गरे ।

तपाईको प्रतिक्रिया