मदनकृष्ण सिलवाल
काठमाडौँ, पुस २४ । चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा लेखक तथा समाजसेवी युवराजसिंह कार्की तथा जुलुम कार्कीद्वारा स्थापित चेतकी प्रज्ञा सम्मान (पुरस्कार) तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार पुस २३ गते आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अथिति एवम् बाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले प्रदान गर्नुभयो ।
जोशीले भाषा–साहित्य, संस्कृति, कला र इतिहासको संरक्षण र सम्बद्र्धन गर्न सरकारको ध्यानाकर्षित गर्नुभयो । सो अवसरमा चेतकी प्रज्ञा सम्मान (पुरस्कार)– २०७६ संस्कृति तर्फ नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ तथा २०७६ इतिहासतर्फ ‘संशोधन मण्डल’लाई प्रदान गरिएको छ । यो सम्मान संशोधन मण्डलका सदस्य तथा प्राज्ञ दिनेशराज पन्तले ग्रहण गर्नुभएको हो । यी दुवै सम्मान (पुरस्कार) को राशि रू ५०,०००।– (पचास हजार)÷रू. ५०,०००।– रहेको छ ।
चेतकी प्रज्ञा–सम्मान–२०७५ हिन्दू धर्म–दर्शन तर्फ संस्कृतविद प्रा.डा. दीर्घराज घिमिरे, ललितकला–२०७४ तर्फ वरिष्ठ कलासाधक तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य, बौद्ध धर्म–दर्शन –२०७३ तर्फ संस्कृतिविद प्रा.डा. शङ्कर थापा तथा नेपाली भाषा साहित्य– २०७२ तर्फ वरिष्ठ भाषाविद् प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गरिएको छ । यी चारवटै सम्मान–पुरस्कारको राशि रु. ३०÷३० हजार रहेको छ ।
त्यस्तै सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार (२०७६) प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा कौशिकी साहित्यिक द्वैमासिकका प्रधानसम्पादक चेतनाथ धमलालाई प्रदान गरिएको छ । साथै, सो पुरस्कार–२०७५ का लागि ‘शब्द संयोजन’ साहित्यिक मासिक, २०७४ लागि ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक, २०७३ का लागि ‘सङ्गम अभियान’ साहित्यिक मासिक र २०७२ का लागि ‘श्रृङ्खला’ साहित्यिक मासिकलाई प्रदान गरिएको छ । यी पाँचवटै पुरस्कारको राशि रू. ३०÷३० हजार रहेको छ ।
त्यसैगरी चेतकीराज्यलक्ष्मी कार्की स्मृति छात्रावृत्ति त्रि.वि., लिटल एन्जेल्स उमावि, बुढानीलकण्ठ उमावि, देउराली प्रा.वि., लेले र ज्ञान प्रकाश उमावि ओखलढुङ्गामा अध्ययनरत २१ जना विद्यार्थीलाई ४१ हजार राशिको छात्रावृत्ति सो प्रतिष्ठानका संरक्षिका श्रीमती जुलुम कार्की तथा अध्यक्ष प्रा. विद्याधर शर्मा भट्टराईले प्रदान गर्नुभएको थियो ।
त्यसैगरी प्रतिष्ठानका महासचिव युवराजसिंह कार्कीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । वरिष्ठ गीतकार चेतन कार्कीको अध्यक्षतामा सम्पन्न समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल साहित्यिक पत्रकार संघका निवर्तमान अध्यक्ष रोचक घिमिरे, योगविद् डा.टीपी धमला र गोरखापत्रका नायवकार्यकारी सम्पादक तुलसीहरि कोइरालाले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । सो सम्मान पुरस्कार वितरण समारोहको सञ्चालन साहित्यकार राधा कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया