कुन गीत हिट र कुन फ्लप खुट्टयाउन युट्युब गतिलो माध्यम बनेको छ । युट्युब रिलिजको छोटो समयमै लाखौं भ्यूअर्स बटुलेको खण्डमा गीतलाई हिट मानिने चलन छ । अर्थात्, भ्यूजको आधारमा गीतको असफलता र असफलता मापन गरिन्छ । केही वर्ष अगाडिसम्म युट्युबमा कुनै गीतलाई एक लाख पटक हेरियो भने हिट मानिन्थ्यो । अचेल करोड भ्यूज पनि सामान्य मानिन्छ ।

गीत युट्युबको ‘ट्रेन्डिङ’ मा आयो भने हिट मान्ने पनि एकथरी जमात छ । त्यसैले आजभोली आत्मरतीमा रमाउन गीतलाई यूट्युबमा जबरजस्ती हिट बनाउन डलर खर्च गरेर ‘बुस्ट’ समेत गर्ने गरिन्छ । तर, गीत चल्न गीत आफैंमा राम्रो हुनुपर्छ भन्ने सोचाई भने कमैमा छ । अझ, नेपाली फिल्म क्षेत्रमा गीत युट्युबमा हिट भएपछि हलमा पनि फिल्म हिट हुने विश्वास निर्मातामा छ ।

तर, युट्युबमा गीत हिट हुँदाको फाइदा एकाध फिल्मले मात्र उठाएका छन् । ‘छक्का पञ्जा’ र ‘नाईं नभन्नू ल’ सिरिज यसका उदाहरण हुन् । यी फिल्मको सुरुवाती व्यापारमा गीतको ठूलो योगदान छ । तर, गीत हिट भएर पनि फिल्म नचलेका उदाहरण यहाँ थोरै छैनन् । यद्यपि, गीत युट्युबमा राम्रो चलेको खण्डमा फिल्मको हाइप निर्माणमा धेरै हदसम्म मद्दत भने पुग्छ ।

माघे संक्रान्तिको अवसर पारेर कलाकारहरुको ठूलो भीड रहेको कमेडी फिल्म ‘लक्का जवान’ को शिर्ष गीत ‘मन त मेरो लक्का जवान’ सार्वजनिक भयो । यो गीतलाई लिएर निर्माण टिमको ठूलो आश थियो/छ । गीतमा ठुम्का लगाएका कलाकारहरुको भीड हेर्दा गीतले युट्युबमा सफलता हात पार्ने अनुमान गरिएको थियो । तर, गीतलाई तीन दिनमा ३ लाख भ्यूज पनि मिलेको छैन ।

अघिल्लो पुस्ताका शिवहरी पौडेल, किरण केसी, दीलिप रायमाझीसँगै पछिल्लो छिमलका प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेतलगायतका कलाकारहरुले ठुम्का लगाएको गीतले तीन दिनमा युट्युबमा तीन लाख भ्यूज पनि कटाउनु गीतको असफलता मानिएको छ । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्ने निर्माण टिमको विश्वस्त थियो । तर, त्यसो हुन सकेन ।

गीतको कमेन्ट बक्समा अभिनेता दीलिप रायमाझीको नृत्यको प्रशंसा गर्नेको संख्या धेरै छ । प्रियंका, सलोन र वर्षाको नृत्य पनि रुचाइएको छ । तर, गीतको अडियो र भिडियोको प्रशंसामा भने धेरै कमेन्ट कोरिएका छैनन् । बाबुल गिरीको संगीत र डिपी खनालको शब्द रहेको गीतमा बाबुलसँगै मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।

चैत २१ गते रिलिज हुने फिल्मलाई शिवहरी पौडेलले निर्देशन गरेका हुन् । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्मको सह-निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । फिल्मले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया