खरामा सोमबारदेखि महानगरस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजनामा ‘विद्यालयमा रंगमञ्च अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल नाराका साथ गैह्रपाटनस्थित गन्धर्व नाटकघरमा सुरु भएको महोत्सव १४ माघसम्म चल्नेछ ।
नौदिने महोत्सवमा विभिन्न नौ नाटक मञ्चन हुनेछन् । एउटा नाटक प्रत्येक दिन दुईपटक देखाइनेछ । बिहान ११ः३० र दिउँसो २ बजे नाटक मञ्चन गरिने नाटक छनोट समितिका संयोजक प्रकाश घिमिरेले जानकारी दिए । मञ्चन हुने नाटक ३३ मिनेटदेखि एक घन्टा अवधिसम्मका रहेको र ती सबै सामाजिक विषयवस्तुमा आधारित रहेको उनको भनाइ छ ।
‘बालबालिकालाई असल शिक्षा दिनुका साथै उनीहरूलाई सिर्जनात्मक बनाउन र नेतृत्वदायी क्षमता विकास गर्न महोत्सवले सघाउने हामीले विश्वास लिएका छौँ,’ उनले भने, ‘नयाँ पुस्तालाई नाट्य क्षेत्रमा आउन आकर्षित गर्ने मात्र नभएर उनीहरूमा निखारता थप्न पनि कार्यक्रमले सहयोग गर्नेछ ।’
महोत्सवको पहिलो दिन (सोमबार) पोखरा थिएटरको प्रस्तुति रहेको ‘कोही किन बरबाद होस्’ नाटक मञ्चन गरिएको थियो । त्यस्तै, ७ माघमा हिल प्वाइन्ट माध्यमिक विद्यालयको ‘ऐना’, ८ गते प्रतिभा माविको ‘गलबन्दी’, ९ गते डायमन्ड माविकोे ‘मुनामदन’, १० गते बालकल्याण हाइस्कुलको ‘मेरो बचपनको साथी’, ११ गते प्रगति माविकोे ‘आधा मरेका सन्तानहरू’, १२ गते राइजिङ स्टार एकेडेमीको ‘आह्वान’, १३ गते भानुभक्त आवासीय माविकोे ‘डाँडाखेत’ र अन्तिम दिन (१४ माघमा) एसओएस हर्मन माइनर स्कुलको ‘मित्रतामा धोका’ नाटक मञ्चन गरिने थिएटरका अध्यक्षसमेत रहेका महोत्सवका निर्देशक परिवर्तनले जानकारी दिए । रंगमञ्चमा बालबालिकाको सहभागिता होस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिइने उनको भनाइ छ ।
महोत्सवकै अवसरमा नाटकबारे दर्शक र कलाकारबीच अन्तरक्रिया कार्यक्रम गरिने आयोजकको भनाइ छ । कार्यक्रममा रंगकर्मी अनुप बराल, प्रकाश घिमिरे, अञ्जु दाहाल, नारायण पराजुली, निश्चल विमल, रषिका बसेल, प्रतीक्षा छिनाल, रोशनी केसी, विद्या थापा, सुनील सिग्देल, गनेस पौडेललगायत वक्ता रहनेछन् ।