काठमाडौँ सामाजिक सञ्जालको जमाना छ । यदि तपाईंसँग कुनै विशिष्ट प्रतिभा छ भने केही घन्टामै चर्चित बन्न सक्नुहुन्छ । नत्र सुमन कोइरालालाई हेर्नुस । करिब ९ मिनेटको एउटा प्रस्तुतिले उनलाई रातारात ‘फेमस’ बनाइदियो ।

अहिले निकै लोकप्रियता कमाइरहेको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का सहभागी हुन् सुमन । नेपालमा पहिलोपटक ‘स्ट्यान्ड अप कमेडी’मा आधारित रियालिटी शो आयोजना भइरहेको छ । यसमा सुमनजस्ता थुप्रै प्रतिभावान कमेडीयनहरु उदाएका छन् ।

सुमनको कुरा गर्दा उनी टप १० बाटै आउट भइसकेका थिए । तर, ‘वाइल्ड काल्ड इन्ट्री’ पाएर टप ७ मा फर्केका छन् । उनलाई प्रतिस्पर्धामा फर्काएको हो गत सोमबारको प्रस्तुतिले, जसमा उनी एक जग्गा दलालको अवतारमा उत्रिएका थिए । उक्त प्रस्तुतिलाई यस प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट मानिएको छ । पहिलोपटक चारैजना निर्णायकहरुदे उनको मुक्तकन्ठले तारिफ गरे ।

जग्गा दलालको रुपमा सुमनले प्रस्तुत गरेको स्ट्यान्डअप कमेडी हास्य र व्यंग्य दुवै पाटोमा सशक्त थियो । पञ्चलाइनहरु प्रशस्त थिए । उनले आफ्नो लवज पनि फरक बनाएका थिए । नेकपा महासचिव विष्णु पौडेललाई जोडेर गरिएको यो व्यंग्य सर्वाधिक चर्चित बन्यो ।

‘म केपी बाकहाँ जग्गाको कुरा गर्न गएको थिएँ । केपी बा, ४ रोपनी जग्गा छ, लु मारूँ न बैना भन्छु, हुदैँन, म त बाहिरको दलाली हायर गर्दिन । मेरो कारोवार त विष्णु भाइले नै हेर्छन् भनेर पठाए ।’

सुमनको यो पञ्चलाइन धारिलो तरवारभन्दा कम थिएन । जजको रुपमा कुर्सीमा आसिन मनोज गजुरेलले यसलाई आफ्नै स्टाइलमा १० करोड मूल्यांकन गरे भने उनलाई उछिन्दै अर्का जज प्रदीप भट्टराई २० करोड दिन तयार भए । ऋचाले सुमनको कमेडी हेरेपछि आफूलाई जग्गा दलाल मन पर्न थालेको प्रतिक्रिया दिइन् । पन्तले सुमनलाई सिधै पहिलो नम्बरमा हेर्न चाहेको बताए ।

उक्त एपिसोडमा गेस्ट जजका रुपमा पूर्वमिस नेपाल श्रृंखला खतिवडा र माल्भिका सुब्बा पनि उपस्थित थिए । सुमनले श्रृंखलालाई पनि बाँकी राखेनन् । केही समयदेखि श्रृंखलाको नाम भ्लगर सिसन बानियाँसँग जोडिने गरेको छ । सुमनले पनि आफ्नो प्रस्तुतिमा सिसनलाई घुसाइहाले ।
फोनमा कुरा गर्दै उनी भन्छन्, ‘कुन जग्गा रे ? सिसन बानियाले ड्रोन उडाएको जग्गा हो । के हो ड्रोन भन्या रे ? राम्रै कुरा हो, सिसन बानियाले उडाएको कुरा नराम्रो हुन्छ ?’

सुमनको यो व्यंग्यमा दर्शकदीर्घाबाट हाँसोको फोहोरा छुट्यो । श्रृंखला पनि हाँसेर भुतुक्कै भइन् ।

अन्ततः कार्यक्रमको अन्त्यमा सुमन उक्त एपिसोडका सर्वोकृष्ट हुँदै १० हजार नगद पाए । त्यो भन्दा ठूलो कुरा उनी टप ७ मा फर्किए । कार्यक्रमको फर्म्याटअनुसार आउट भइसकेका मध्ये दुई जनाले वाइल्ड कार्डमार्फत रि-इन्ट्री पाउँछन् । जसमा एकजनाको छनोट चार जना निर्णयकले गर्छन् भने अर्को एक जना दर्शकको भोटका आधारमा । निर्णायकको छनोटमा सुमन परेका हुन् ।

सुमनको यो प्रस्तुति केही घन्टामै सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । यति धेरै चर्चा होला भन्ने सोच्दै नसोचेको सुमन बताउँछन् ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘मैले त सामान्यरुपमा प्रस्तुति दिएको थिएँ । चारै जना जज उठेर ताली बजाएपछि सरप्राइज भएँ । पछि सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा भइरहेका रहेछ । मैले यस्तो होला भन्ने कल्पनै गरेको थिइनँ ।’

तपाईको प्रतिक्रिया