काठमाडौँ — शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दी फिल्म ‘स्ट्रीट डान्सर थ्रीडी’ले व्यापार सुखद नै छ । प्रभुदेवा, वरुण धवन, श्रद्धा कपुरजस्ता स्टार अभिनित फिल्मका निर्देशक हुन्, रेमो डिसुजा ।

यो फिल्मको यहाँ किन चर्चा गरिदैछ भने यसमा नेपाली डान्सर सुशान्त खत्रीले पनि अभिनय गरेका छन्। सुशान्त उनै हुन्, जो भारतीय टेलिभिजन रियालिटी शो डान्स प्लस सिजन–२ को उत्कृष्ट चारमा पुग्न सफल भएका थिए। त्यतिबेलै शोका मुख्य निर्णायक डिसुजाले सुशान्तलाई फिल्म खेलाउने घोषणा गरेका थिए।

Meroghar

यो फिल्म खासमा ‘एबीसीडी–२’ को सिक्वेल हो तर निर्माण कम्पनी डिज्नेले भारतमा फिल्म निर्माण बन्द गरेपछि नाम परिवर्तन गरेर ‘स्ट्रीट डान्सर थ्रीडी’ राखिएको हो। यसमा बेलायतमा रहेका भारत र पाकिस्तानका दुई डान्स समूहबीचको टकराव छ। अनि, सुशान्तचाहिं पाकिस्तानको टीममा।

ट्रेलरसहित अन्य प्रचारात्मक सामग्रीमा सुशान्तलाई स्थान दिइएको थिएन, त्यसैले फिल्ममा उनको उपस्थितिमाथि शंका गरिएको थियो तर त्यस्तो होइन रहेछ। फिल्ममा उनलाई छोटु नामक महत्वपूर्ण चरित्रमा देख्न पाइन्छ। कथाअनुरुप बेलायतमा प्रभुदेवाको रेष्टुँरा हुन्छ, त्यहींको ‘वेटर’ हुन्छन् सुशान्त। जो पछि प्रभुदेवाकै समूहमा रहेर ‘ग्राउन्ड जिरो’ नामक प्रतियोगितामा आफ्नो नृत्यकला पस्कन्छन्। उनको भूमिका हास्यपरक छ।

रिलिजको पूर्वसन्ध्यामा वरुण धवन र श्रद्धा कपुरले सुशान्तको तारिफ गर्दै भिडियो पोस्ट गरेका थिए। त्यस्तै, निर्माण कम्पनीले केहि महिनाअगाडि ‘स्ट्रीट टू स्ट्रीट डान्सर’ शिर्षकमा सुशान्तमाथि बनाएको भिडियो युट्युबमा सार्वजनिक गरेको थियो।

सुशान्तबाहेक वाइल्ड रिपर्ज नामक नेपाली नृत्य समूह पनि फिल्ममा छ तर त्यति ‘नोटिस’ हुन्न।

को हुन् सुशान्त?

काठमाडौं कपनमा हुर्किएका हुन्, सुशान्त। एसएलसीपछि डान्सको सिक्न थाले। कोरियोग्राफर गम्भीर विष्टसँग पनि उनले प्रशिक्षण लिएका छन्। सुरुमा बि–बोइङप्रति झुकाव राख्थे। पछि पपिङ र हिप–अप गर्न थाले। डान्स प्लसपछि लिरिकल डान्सका रुपमा उनले आफ्नो पहिचान बनाए।

सुशान्तले नेपाल टेलिभिजनको छमछमीमा भाग लिएका थिए। अगाडी बढ्न भने सकेनन्। तैपनी काठमाडौंमा हुने हिपअप डान्स प्रतियोगितामा भाग लिइरहे, कतिपयमा उत्कृष्ट ठहरिए पनि। त्यसपछि अवसरको खोजीमा मुम्बई हानिए। डान्सप्लस भन्दा पहिले इन्डिया डान्सिङ सुपरस्टारको टप १२ मा पुगेका थिए। उनले करिब एक दर्जन नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन्। अहिले मुम्बई र काठमाडौंमा एकसाथ करिअर बनाउन प्रयासरत छन्।डेढ महिनायता उनी मुम्बईमा छन्।

तपाईको प्रतिक्रिया