काठमाडौँ — बुधबारबाट राजधानीको मल्टिप्लेक्स क्यूएफएक्सले कोरोना भाइरस (कोभिड १९) विरुद्ध सतर्कता अपनाउन सुरु गरेको छ ।

दर्शकको भीड हुने ठाउँ भएकोले हलमा स्यानिटाइजर अनि विभिन्न स्प्रेको प्रयोग गर्न थालेको क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए।

दर्शकको हात पर्ने विभिन्न स्थानमा स्यानिटाइजर प्रयोग गरेको उनले बताए। ‘हाम्रो दायीत्व त पूरा गर्नुपर्‍यो नि। हामीले टिकट, सोधपुछ काउन्टर अनि शौचालयमा ह्यान्ड स्यानिटाइजर राख्न थालेका छौं। हुन त हामी पहिले पनि सरसफाईमा ध्यान दिन्थ्यौं। अहिले थप सरसफाईमा ध्यान दिन थालेका हौं,’ उनले भने, ‘ढोका समात्ने ठाउँ, दर्शकको जता धेरै पर्छ त्यता चाहिँ स्प्रेको प्रयोग गरेका छौं। फिल्म सकिनेबित्तिकै हात राख्ने ठाउँहरुमा स्प्रे गर्न थालेका छौं।’

दर्शक नडराउन् भन्ने हेतुले यस्तो सतर्कता अपनाएको उनी दाबी गर्छन्।

‘हामीले कोरोनालाई बेवास्ता गरेका छैनौं। हाम्रा हलमा आउने दर्शक नडराउन् भनेर नै यो सतकर्ता अपनाएका हौं। हामीले त रोकथामको बाटो न अपनाउने हो,’ उनले सुनाए। दर्शकमध्ये कसैले हाच्छिउँ गर्‍यो भने त्यस व्यक्तिको स्वाथ्यबारे सोधखोज गर्ने अभ्यास थालिसकेको अडिगा बताउँछन्। उनका अनुसार १ हप्ताका लागि क्युएफएक्सले स्यानिटाइजर अनि स्प्रेको व्यवस्था गरेको छ। ‘तर अन्य दिनका लागि बजारमा स्यानिटाइजर पाइन छोडेपछि तनाव बढेको छ,’ उनले थपे।

मानिसको भीड हुने ठाउँ भएकाले फिल्महल पनि बन्द गरिनुपर्ने चर्चा चल्न थालेको छ। नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने हल बन्द गर्ने/नगर्ने विषय छलफल गरेर निर्क्यौल गर्ने बताए।

कलाकार दीपकराज गिरी भने हलमात्रै बन्द गर्न नहुने तर्क गर्छन्। ‘स्कूल, कलेज, सेमिनार, सभा, जुलुसजस्ता बृहत भेलाहरू बन्द हुन्छन् भने सिनेमा पनि अवश्य बन्द हुनुपर्छ,’ दीपकले भने, ‘यदि होसियारीपूर्वक सबै कुरा नियमित ढंगबाटै चल्छ भने सिनेमा हलमात्रै किन बन्द हुनु? तर दर्शकहरू सँगै हल सञ्चालकहरू पनि सचेत हुनुपर्‍यो।’

कोरोनाको त्रास देखिए पनि फिल्म हेर्न आउने दर्शकको संख्यामा खासै असर नपरेको अडिगाले बताए।

उता क्यूज सिनेमाजका सञ्चालक सुमित मैनालीले २ हप्ताअघि नै स्यानिटाइजर विभिन्न प्रवेशद्वारमा राखेर सतर्कता अपनाउन थालेको बताउँछन्।

कोरोनाको त्रास फैलिएसँगै प्रदर्शनरत फिल्मको व्यापारमा पनि यसको प्रभाव देखिन थालेको छ। बुधबार क्याम्ब्रिज पब्लिक हाई स्कूलले फिल्म ‘सेन्टी भाइरस’को ९ बजेको सो कुमारी हलमा बुक गरेको थियो। तर, कोरोना डरका कारण सो नै रद्द गरियो। ‘उहाँहरुले रंगशाला सहयोगार्थ भनेर उक्त सो बुक गर्नु भएको थियो। विद्यालयका विद्यार्थीसहित उनीहरुका परिवारले यो फिल्म हेर्ने तयारी थियो,’ सीताराम कट्टेल (धुर्मुस)ले सुनाए, ‘कोरोनाकै डरले विद्यालयले मलाई बिहानै सो क्यान्सिल गर्ने निर्णय सुनाइयो। तर उहाँहरुले सहयोग रकम फाउन्डेसनलाई दिने वाचा गर्नु’भा छ।’

प्रदर्शनको तयारीमा रहेका फिल्मलाई समेत यो त्रासले असर गर्ने देखिएको छ। केही फिल्मकर्मी फिल्मको प्रदर्शन नै सार्ने तयारीमा थालेको चर्चा छ।

विश्वका ठूला फिल्म उद्योग पनि कोरोना त्रासको चपेटामा परेका छन्। चीनको फिल्म बजार कोरोनाले ठप्प नै बनाएको छ। यसको प्रभाव इटलीमा पनि देखिएको छ। चीनको फिल्म हल बन्द हुँदा हलिउड फिल्मको समेत विश्वव्यापी कमाइमा ठूलो असर परेको छ। यसको प्रभाव प्रदर्शनको तयारीमा रहेको ठूला फिल्म ‘मुलान’, ‘फास्ट एण्ड फ्यूरियस’, ‘नो टाइम टू डाई’मा देखिने भएको छ।

तपाईको प्रतिक्रिया