विराटनगर। तीन महिनाको अवधिमा प्रहरी ब्यारेक र जिल्ला कारागारमा गरी ६ जनाको मृत्यु भएको इन्सेकको अभिलेख देखाएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्थाका विषयमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार झापा, मोरङ र सुनसरीमा रहेका कारागार र व्यारेकमा गरी ६ जनाको मृत्यु भएको छ ।
इन्सेकको अभिलेखअनुसार ०८१ पुस १६ गतेदेखि चैत १८ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय झापाको व्यारेकभित्र र कारागारमा गरी दुई जनाको मृत्यु भएको छ । जिल्ला कारागार मोरङका तीन जना र सुनसरी झुम्का कारागारमा एक जना गरी चार जनाको मृत्यु भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेमा कानेपोखरी गाउँपालिका–७ का ४९ वर्षीय सइ धनराज खतिवडाको फागुन ४ गते झुण्डिएर मृत्यु भएको र जिल्ला कारागार झापामा भद्रपुर नगरपालिका–१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
जिल्ला कारागार मोरङमा रहेका बेलवारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राइको पुस २० गते, पथरीशनिश्चरे नगरपालिका–४ का जेठा भनिने जितबहादुर देवानको चैत १ गते र रतुवामाई नगरपालिका–५ का २९ वर्षीय किसन टुडुको माघ २९ गते मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
तीन महिनाको अवधिमा ताप्लेजुङको पाथीभरा मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनमा प्रहरीले सात जना महिला र ४२ जना पुरूष गरी ४९ जनालाई गिरफ्तार गरेको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले जानकारी दिनु भयो । सो अवधिमा राज्य पक्षबाट भएका कुटपिटका घटनामा चार जना पुरूष घाइते भएका छन् ।
तीन महिनाको अवधिमा राज्यपक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५९ जना र अन्य पक्षबाट भएका मानव अधिकारविरूद्धका घटनामा ३१६ जना गरी कूल ३७५ जना पीडित भएको प्रलेख अधिकृत अधिकारीले बताउनु भयो ।
अन्य पक्षबाट भएका घटनामा घाइते पुरूष ३०, कुटपिट महिला दुई र पुरूष सात गरी नौ, अमानवीय व्यवहार घटनामा दुई जना पुरूष, हत्याका घटना दुई जना महिला र दुई जना पुरूष गरी चार, अपहरण घटनामा एक जना महिला, धम्कीका घटनामा एक जना पुरूष, बाल अधिकारविरूद्धका घटनामा ४१ जना र महिला अधिकारविरूद्धका घटनामा २२८ गरी कुल ३१६ जना पीडित भएका छन् ।
इन्सेक अभिलेखका आधारमा तीन महिनाको अवधिमा २९ जना बालिका बलात्कार र १२ जना बालिका यौन दुर्व्यवहारका घटनामा पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा बलात्कार २६, बलात्कार प्रयास एक, यौन दुर्व्यवहार एक, परिवारजनबाट हत्या दुई, यौनजन्य साइवर अपराध एक र घरेलु हिंसामा १९७ गरी २२८ जना महिला पीडित भएका छन् ।