विश्वका १ सय ९५ देशहरूसँगै नेपाल र नेपाली पनि अहिले कोभिड १९ अथवा कोरोना भाइरसविरुद्धको लडाईँमा छौँ । नेपालभित्र हालसम्म जम्मा २ जना नेपालीमा कोराना भाइरसको सङ्क्रमण देखिएको छ ।

एकजनलाई निको भइसकेको छ भने अर्का एकजना उपचारका क्रममा छन् । नेपालमा जनस्वास्थ्यमा सम्भावित विपत्ति आउन नदिन सरकारले लिएको लकडाउनसहितका कदम स्वागतयोय छन् ।

सरकारले विमानस्थल हुँदै तेस्रो मुलुकबाट आएकाहरूसँगै विशेष ध्यान भारततर्फबाट भित्रिएकाहरूमा पुर्याउनुपर्ने देखिन्छ ।

सीमानाका बन्द गर्दागर्दै पनि नेपाल भित्रिनेहरूको सङ्ख्या यति बाक्लो देखिन्थ्यो कि, ती मध्य कसैलाई सङ्क्रमण भएको रहेछ भने सजिलै अरूलाई सर्न सक्ने अवस्था छ ।

उनीहरू सबैलाई सरकारले अनिवार्य रूपमा दुई साता घरमै क्वारेन्टाइनमा राख्नुपर्छ । सरकारको यो अनुरोधलाई हरेक जिम्मेवर नागरिकले अनुशासित भएर पालना गर्नु र गराउनु पर्छ ।

हिले बाहिरबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सम्बन्धित पालिका र वडाहरूको महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो वडा तथा गाउँ–ठाउँमा विदेशबाट आएका व्यक्तिको अभिलेख राखी क्वारेन्टाइनमा बसे–नबसेको अनुगमन गर्न दलहरूले पनि सघाउनुपर्छ ।

यसअघि पनि कयौँ विपत्तिको मिलेर सामना गरेका हामी नेपाली यसपटक पनि कोरोना विरुद्धको साझा लडाईँमा ऐक्यवद्धता जनाउँदै अहिले जो जहाँ छौँ, त्यही बसौँ र नेपाललाई विश्वव्याधि छल्ने सफल राष्ट्र बनाउन हातेमालो गरौँ ।

तपाईको प्रतिक्रिया