मोरङ पथरी शनिश्चरे नगरपालिका २ का आतेजुङ राईले आफ्नो को ३४ प ६००४ नम्बरको १५० सिसिको निलो पल्सर मोटरसाइकल चोरी भएको भन्दै इलाका प्रहरी कार्यालय पथरीमा खोजतलासको लागि निवेदन दिए ।

उनको मोटरसाइकल मङ्गलवार बिहान तीन बजे घरबाटै चोरी भएको थियो । निवेदनपछि मोटरसाइकलको हुलियाको आधारमा पथरी प्रहरीले खोजतलासमा जुट्छ ।

नभन्दै पथरीका डिएसपी दिलीप कुमार गिरीलाई दुई जना युवा पथरी बजारमा सस्तोमा मोटरसाइकल बेच्न भन्दै डुली हिँडेको खबर पाउँछन् । ती युवाले पथरीकै एक मोटरसाइकल ग्यारेजमा २० हजारमै पल्सर बाइक किन्न साहुजीलाई अफर गरेका थिए ।

तत्कालै ती दुई युवालाई पथरी प्रहरीले बाइकसहित पक्राउ गर्छ । नभन्दै उनीहरूसँग बरामद भएको बाइक मङ्गलवार बिहान चोरी भएका आतेजुङ राईकै पल्सर हुन्छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका २ का २० वर्षीय पृतिमान भण्डारी र २२ वर्षीय अभिषेक कट्टेल हुन्छन् । तर उनीहरूसँग भेटिएको बाइक नम्बर भने परिवर्तन गरी बा ९८ प ६६६१ बनाइएको र केही मोडिफाई गरिएको अवस्थामा हुन्छ ।

प्रहरीले दुबैलाई अनुसन्धान गर्दा आफूहरूलाई सो बाइक बेच्न पठाएको बताउँछन् । प्रहरीलेपछि बाइक चोरी गर्ने र बेच्न पठाउने नाइके पथरी शनिश्चरे नगरपालिका १० का २० वर्षीय निमा तामाङको पहिचान गर्छ र पक्राउ गर्छ ।

बिहान चोरी गरेको मोटरसाइकल उनिहरुले बेलबारी ल्याएका थिए । बेलबारीमा नम्बर परिवर्तन गरी भण्डारी र कट्टेलले बिक्रीका लागि जिम्मा लिएका थिए ।

तीनै जनाको समूहले आतेजुङ राईको घरबाट सो बाइक चोरी गरेको पथरीका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए । पक्राउ परेका निमा पथरी शनिश्चरे क्षेत्रमा धेरै पटक चोरीको केशमा पक्राउ परिसकेका युवा भएको उनले अपराध न्यूजलाई बताए । तिनै जनालाई थप अनुसन्धानको लागि म्याद थप गरिएको समेत गिरीले बताए ।

Sorce -अपराध न्यूज

तपाईको प्रतिक्रिया