- उत्तम पौडेल /सविन लामिछाने,

तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए ।

विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए ।

सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर, दूभाग्र्य त्यहीं बेला टुप्लुक्क प्रहरी पुग्यो । र, उत्सव बिथोलियो । कारण थियो, बेहुलीको उमेर ।

विश्वस्त सुत्रमार्फत सूचना पाएपछि एक्सनमा आएको प्रहरी मण्डपमा पुगेपछि स्थिति अचानक फेरियो । दुबैपक्षका आफन्त भयभीत भए । र, भयभीत हुनु स्वभाविक थियो । प्रहरीको जाँचपडतालमा बेहुलीको उमेर मात्र १४ वर्ष पाइयो ।

त्यसपछि बेहुला-बेहुलीमात्र नभइ आफन्तजन पनि प्रहरी हिरासतमा पुगे । तत्पश्चात, प्रहरीले दिएको जानकारीअनुसार गोरखा शैलुखन गाउँपालिका ३ बनौती निवासी २२ वर्षीय सन्तोष अर्यालसहित पाँचजनालाई बाल विवाहको कसुरमा जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।

विवाहमा एक स्कोर्पियो र २ वटा भ्यानमा करिब २ दर्जन जन्ती पुगेका थिए । अर्यालले तनहुँ व्यास नगरपालिकाकी १४ वर्षीया एक किशोरीलाई बुधबार बिहे गर्ने क्रममा मण्डपबाटै पक्राउ गरेको छ ।

केटा र केटी पक्षको सहमतिमै विवाहको आयोजना गरिएपनि शंकास्पद विवाह भनेर प्रहरीले घटनास्थलमा गएर बुझ्दा दुलहीको उमेर १४ वर्ष खुल्न गएपछि बाल विवाहको कसुरमा प्रहरीले दुलाहा दुलाहीसहित दुबैतर्फका ५ जनालाई तत्काल नियन्त्रणमा लिई बाल विवाह ऐनअन्तरगत मुद्दा चलाइएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा केटापक्षका बाबु, आमा, केटीपक्षका बाबु र पुरोहित पक्राउ परेका छन् । बाल विवाहअन्तरगत कानूनतः दोषी पाइएमा ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने प्रावधान रहेको छ ।

उक्त घटनाको पुष्टि गर्दै जिप्रका तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले घटनाबारे प्रहरी थप अनुसन्धानमा जुटेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया