भारतीय विद्युतीय मिडियाबाट नेपाल र नेपाली जनताविरुद्ध एकतर्फी अपुष्ट, आपत्तिजनक,भ्रामक समाचार सम्प्रेषणमा बढोत्तरी हुन थालेपछि प्रेस काउन्सिल नेपालले आफ्नो समकक्षी संस्था भारतीय प्रेस काउन्सिलसामु गम्भीर सरोकार राखेको छ ।

तर,भारतमा विद्युतीय संञ्चारमाध्यमलाई प्रेस काउन्सिलले हेर्न मिल्ने प्रावधान छैन । उसले छापामाध्यमका हकमा मात्र आफ्नो भूमिका प्रदर्शन गर्न पाउने व्यवस्था छ ।

यता आजै प्रेस काउन्सिल नेपालले दर्ता भएकै केही अनलाइन न्युज पोर्टललाईसमेत कठोर कारवाही गरेको छ । अफवाहपूर्ण सामाग्री सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर.कम’ लाई बन्द गरिएको हो ।

तिनले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गरेका थिए ।

त्यस्तै, निरन्तर अश्लील पोष्टहरु सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द भएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा सच्चिन तयार नभएपछि काउन्सिलले कारवाही गरेको हो । यससँगै कावाहीमा पर्ने अनलाइन न्युज पोर्टलको संख्या सय नाघेको छ ।

आजैदेखि दर्ता भएको नाममा छूट नदिई आपत्तिजनक सामाग्री सम्प्रेषण गर्ने अनलाइनहरु बन्द गर्ने निर्णय आचारसंहिता अनुगमन उपसमितिले गरेअनुसार कार्यप्रक्रियामा पनि गएको हो ।

अर्कातिर केही युट्युब च्यानलले मिडियाका नाममा सिर्जना गरेका केही लज्जास्पद वातावरणलाई दृष्टिगत गर्दै प्रेस काउन्सिल नेपालले आवश्यक नियमनका निम्ति दुई महिनाअघि नै सञ्चार मन्त्रालयलाई पत्राचार गरेको थियो ।

विदेशी रकम आर्जन गर्ने लोभमा उत्तेजनापूर्ण, असामाजिक तथा अमर्यादित सामाग्री सम्प्रेषण गर्ने च्यानलहरुलाई आवश्यक कारवाही गर्न त्यस्तो पत्राचार भएको हो । तर, कानुनी व्यवस्थाका लागि मार्गप्रशस्त गर्न मागिएको उक्त पत्रानुसार मन्त्रालयमा टिप्पणी उठाएर फाइल तयार पारिए पनि मन्त्रीले फाइल थन्क्याएर राखेको बुझिएको छ ।

स्मरणीय छ,रुकुम घटनामा भ्रामक सामाग्री सम्प्रेषण गरी एउटै युट्युब च्यानलले २५ लाख रुपैयाँ बराबरको अबैध विदेशी डलर आर्जन गरेको समेत पाइएको छ ।

सञ्चारकर्मका नाममा मानवीय संवेदनशीलता,सामाजिक सद्भाव र प्रायोजित शैलीमा कोही,कसैमाथि द्वैष तथा घृणाजन्य प्रस्तुति पेश गरिँदा त्यस्ता युट्युब च्यानलले जिम्मेवार सञ्चारकर्मकै हुर्मत लिइरहेको आरोप छ । काउन्सिलले आजै नौ जना बिमार र घाइते पत्रकारलाई अवस्था हेरी दशदेखि तीस हजारसम्म आर्थिक सहयोग गरेको छ !

– जन आस्था

तपाईको प्रतिक्रिया