अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ विगत लामो समयदेखि एकअर्काको प्रेममा छन् । केही वर्ष अफेयर ढाकछोप गरेको यो जोडी आजकाल भने खुल्लम खुल्ला प्रेममा रमाइरहेको छ । सार्वजनिक कार्यक्रममा एकअर्काको साथमा पुग्नेदेखि सामाजिक सञ्जालमा प्रेम अभिव्यक्त गर्न उनीहरु पछाडि परेका छैनन् । बजारमा त उनीहरुले लगनगाँठो कसिसकेको समेत चर्चा छ ।
गएको दुई वर्ष अगाडि यो जोडीले काठमाडौंं जिल्ला अदालत पुगेर विवाह गरेको खबर चुहिएको थियो । तर, उनीहरुले यो कुरालाई अफवाह बताए । बरु प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गरे । सविन र अनुले केही फिल्ममा सँगै काम पनि गरेका छन् । उनीहरुको ‘आधी बाटो’ र ‘लक्ष्य’ फिल्ममा जोडी बाँधिएको थियो । अचेल भने यी दुई फिल्म अभिनयमा निस्क्रिय छन् ।
सविन श्रेष्ठभन्दा प्रेम अभिव्यक्त गर्ने मामलामा अभिनेत्री अनु अगाडि छिन् । सविन सक्रिय रहेका कुनै पनि सामाजिक सञ्जालमा अनुसँगका तस्विरहरु अपलोड भएका छैनन् । अनुको भने फेसबुक र इन्स्टाग्रामसँगै टिकटक समेत सविनमय छ । उनले आफ्नो जीवनमा सविनलाई कुन हदसम्म स्थान दिएकी छन् भन्ने कुरा उनको शरीरमा खोपिएको ट्याटुले पनि स्पष्ट बयान गर्छ ।
अनुले आफ्नो गर्धनमा सविनको नामको ट्याटु खोपाएकी छन् । हालै एक फोटोसुटको क्रममा उनले ट्याटु शो गरेकी हुन् । उनले आफ्नो शरीरमा खोपाएको ट्याटुले सविन उनका लागि कति विशेष छन् भन्ने कुरा प्रस्ट्याउँछ । तर, नेपाली सेलिब्रेटीको लभ अफेयर लामो समय टिकेका धेरै कम उदाहरण छन् । कामना गरौं, अनु र सविनको जोडीमा कसैको आँखा नलागोस् ।