नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादको बिषयमा अहिले चलचित्रकर्मीले पनि मुख खोल्न थालेका छन् । आफ्नो टेलिभिजन कार्यक्रममा सुवेदीले ‘दारा भएका नायिकालाई हामीले महानायिका बनाइदिनुपर्ने’ भन्दै टिप्पणी गरेपछि यसको चर्को आलोचना भैरहेको छ ।

कुनै पनि व्यक्तिको शारीरिक बिषयलाई लिएर राष्ट्रिय टेलिभिजनमा टिप्पणी गरिनु दुखद कुरा भएको भन्दै चलचित्रकर्मीहरुले दुखेसो र आक्रोश व्यक्त गरिरहेका छन् ।

नायिका ऋचा शर्मा लेख्छिन्–‘हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन । कठै हाम्रो समाज र ती अग्रज भनाउँदाहरु, त्यो भन्दा कठै उनीहरुको सोच । तर, अब ती कठैको सोच विच म कठैबरा बन्दिनँ ।’

ऋचा अगाडि लेख्छिन्–‘एक दशकदेखि यस क्षेत्रमा रहिरहेको म र मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाइलाई चार दिनको चन्द्रमा र त्यसपछि औंशी भन्छन्, तिनलाई हाँसेर भन्दिनुस् की दोष तिनको दृष्टिकोणमा छ, सिकाइदिनुहोस् कि, औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाइदिनुहोस्, चन्द्रमा आफ्नो दागविच नै सुन्दर छ ।’

ऋचाले एउटा नायिका र त्यो भन्दा पहिला नारीको हैसियतले समाजले कसरी जिउने, कसरी समाजमा अटाउने, कसरी हिड्ने, बोल्ने भनेर बाम्रबार सिकाउँदा आक्रोश, हिनता र अस्थिरताले सताउने पनि उल्लेख गरेकी छिन् ।

तपाईको प्रतिक्रिया