सिद्धि स्मृति महिला तथा बाल अस्पताल र भक्तपुर जनस्वास्थ्यका वरिष्ठ बालरोग विशेषज्ञ डा.ध्रुव श्रेष्ठद्वारा रचित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचित गीत ‘तिम्रो आँखाको भाकामा’ सुमधुर स्वरका धनी सनुप पौडेलको स्वर र सुमन रंजीतकारको संगीत रहेको छ । गीतकार डा.श्रेष्ठले यो ‘तिम्रो आँखाको भाकामा’ गीतलाई केहि वर्षअघि आफ्नी जीवनसंगीनीलाइ प्रेम अभिव्यक्त गर्नका लागि कविताको रुपमा रचना गरेको र पछि उनका साथीहरु सामु त्यही कवितालाई सुनाउदा उनका साथी संगीतकार सुमन रंजीतकारले यसलाई संगीतबद्ध गर्ने प्रस्ताव गरेपछि यो गीत बनेको जानकारी दिनु भयो ।
डा.श्रेष्ठ तथा उनकी धर्मपत्नी सरु बुढाथोकी अभिनित गीतको म्युजिक भिडियोलाइ जीवन आचार्यले निर्देशन गरेका हुन जीवन रिजालको क्यामेरा र विकास दाहालको सम्पादन रहेको छ । ‘तिम्रो आँखाको भाकामा’ गीतको भिडियो डा. श्रेष्ठ दम्पतीको आफ्नै कथामा बनाइएको हो । गीतकार डा. श्रेष्ठ तथा संगीत संयोजक बिबेक शाक्य भक्तपुर सांगीतिक समाजसंग आबद्ध छन ।

 

तपाईको प्रतिक्रिया