‘अरुको आलोचनाबाट बच्ने उपाय हो–केही नगर्नु, केही नभन्नु, केही नबन्नु ।’

यसको अर्थ चुपचाप बस्नु, यथास्थितीमा रहनु, तटस्थ हुनु आफैमा एक यस्ता अवस्थिती हो, जहाँ कुनै खतरा हुँदैन ।

तर सदियौंदेखि कथा, उपन्यास, चलचित्र आदिमा जुन नायकको विनिर्माण गरिएको छ, उसको प्रवृत्ति यस्तो हुँदैन । नायकहरु चुनौती एवं अप्ठ्यारासँग जुध्न चाहन्छन् । अन्यायको विरुद्ध आगो ओकल्छन् । समुन्नतीका निम्ति पसिना चुहाउँछन् । भ्रष्ट र वेथितीमाथि मुक्का बजार्छन् । सत्य, समानता, सदाचारका निम्ति सधै खबरदारी गरिरहन्छन् । चुपचाप बस्नै सक्दैनन् ।

तर, राजेश हमाल ?

चलचित्रमा उनी अक्सर जुझारु भूमिकामा देखिए । गरिब, निमुखाहरुको पक्षमा उभिएर उनले शोषक र शासकहरुको सातोपुत्लो खाइरहे । झुपडीमा हुर्किएर, ढिंडो गुन्द्रुक खाएर, कछाड–भोटो लगाएर, हलो जोतेर इमान र सत्यको रक्षा गरिरहे । ५० को दशकमा यस्तै अनस्क्रिन छवी बनाएका राजेश हमाललाई आज एउटा वयस्क जमात श्रद्धापूर्वक ‘महानायक’ भन्न रुचाउँछन् ।

चलचित्रमा उनले जसरी ‘नायकत्व’ प्रदर्शन गरेर श्रद्धा कमाए, वास्तविक जीवनमा भने उनको निम्ति यो ‘दुर्लभ’ रह्यो । न उनी बेथिती बिरुद्ध बोल्छन्, न सत्यको पक्षमा लड्छन्, न जन–जागरणको राँको सल्काउँछन् । सामाजिक सरोकारको विषयहरुमा उनी बोल्दैनन् ।

जरुरी छैन, सिनेमाका नायकले वास्तविक जीवनमा पनि त्यस्तै नायकत्व देखाउनुपर्छ । यद्यपि ‘सेलिब्रेटी’ हुनुको नाताले उनको सामाजिक योगदान र भूमिकामाथि प्रश्न उठाउनु नाजयज मानिदैन । किनभने सेलिब्रेटीसँग त्यो सामथ्र्य हुन्छ, जसले ठूलो जमातलाई कुनैपनि कुरामा सहमत गराउन सक्छ । समाजलाई सत्य र सही मार्गदर्शन दिन सक्छ । समाजमा सधै आशा, उत्साह जगाइरहन सक्छ । चाहे जन–जागरणका निम्ति होस् वा खबरदारीका लागि आफ्नो उपस्थिती देखाइरहन सक्छन् । तर, समाजसँग यति अभिन्न रुपमा जोडिनु राजेश हमालका निम्ति अपबाद भइदियो ।

न नावालक सम्झना कामीहरुको बलत्कार र हत्या बिरुद्ध विमर्श गर्छन्, न दशैंको मुखमा रोजगारी खोज्दै भारत फर्किने मजदुरहरुको पक्षमा वाकलत गर्छन् । न कुलमान घिसिङ जस्ता कर्मयोगीको निरन्तरताको लागि पैरवी गर्छन्, न डा. केसी जस्ता सदाचारीहरुको मुद्दामाथि सरकारको ध्यानाकर्षण गराउँछन् । यस्तो लाग्छ, उनलाई जन-सरोकारका यावत् विषयहरुले कतिपनि विथोल्दैन, पिरोल्दैन, घोच्दैन, स्पर्श गर्दैन ।

एकातिर समाजलाई बलात्कार, हत्या, हिंसा, अत्याचारले थिलथिलो बनाउँदैछ, अर्कोतिर राज्यलाई भ्रष्टचार, बेथितीले उजाड बनाउँदैछ । यी कुराले हरेक नेपालीको हृदय काँपेको छ, रगतको चाप बढेको छ । उनीहरु कहिले अपराधी खोजी माग्दै सडक प्रदर्शन गरिरहेका छन्, कहिले भोका पेटहरुलाई रत्नपार्कमा भोजन गराइरहेका छन्, कहिले राज्यमाथि खबरदारी गरिरहेका छन् । तर, यी कुराहरुमा राजेश हमाल सधै पर्दा पछाडि नै बसिरहे, चुपचाप ।

त्यसो त मुलुकमा भएका कुनैपनि राजनीतिक परिवर्तनदेखि सामाजिक उथलपुथलहरुमा पनि उनी मौन रहे । राज्य व्यवस्थाका लागि, सामाजिक रुपान्तरणका लागि उनले कहिल्यै होस्टेमा हैसे गरेनन् । न केही गरे, न केही बोले ।

उनीमाथि आशा र भरोसा गर्ने ठूलो जमात आज पीडा, कष्ट, अभावमा छन् । खान नपाएर, उपचार नपाएर, स्वदेश फर्कन नपाएर तड्पिइरहेका छन् । उनीहरुको वेदना, करुणा, क्रन्दन, दुखेसो, गुनासो, समस्या राज्यले सुन्दैन । अधिकारकर्मीले सुन्दैन । यस्तो बेला समाजले त्यस्तो नायकको खोजी गर्छ, जसले दबाइएका आफ्नो आवाज बोलिदियोस् । तर, राजेश हमाल बोले पो ?

नबोल्नु उनको अधिकार हो । तर, बोल्नु उनको धर्म हो ।

राजेश हमालले बोल्दैमा चमत्कार हुने होइन । यद्यपि भव्य एवं वौद्धिक व्यक्तित्व बनाएका उनले सामाजिक मुद्दाहरुलाई कुनै न कुनै रुपले पैरवी गरिदिँदा सामाजिक सु-व्यवस्थामा आंशिक भएपनि टेवा पुग्छ । त्यो भन्दा बढी चाहि एउटा नयाँ व्यवस्थाको सूत्रपात हुन्छ, सेलिब्रेटी र समाजबीचको सम्बन्धमा । र, उनीपछि आउने सेलिब्रेटीहरुले यसलाई अनुसरण गर्न सक्नेछन् ।

करिब डेढ दशकमा मुलुकले ठूलो उतारचढाव झेल्नुप¥यो । कहिले विनासकारी भूकम्पले तहसनहस बनायो, कहिले बाढी पहिरोले । कहिले नाकाबन्दीले अस्तव्यस्त बनायो, कहिले कोरोनाले । तर, समाजसँग दुःख बाढ्न राजेश हमाल कहिल्यै घरबाट निस्किएनन् ।

धेरैजसो सेलिब्रेटी सामाजिक उत्थानमा प्रत्यक्ष सरिक हुनेगर्छन् । बेथिती बिरुद्ध लडिरहेका हुन्छन् । सामाजिक उत्तरदायित्वका क्षेत्रमा आफुलाई कुनै न कुनै हिसाबले पेश गरिरहेका हुन्छन् । आफुले आर्जन गरेका ठूलो धनराशी समाज सेवामा लगाइरहेका हुन्छन् । साथसाथै राज्य र समाजसँग सरोकार राख्ने मुद्दाहरुमा आफ्नो उपस्थिती देखाइरहेका हुन्छन् । तर, राजेश हमालको हकमा यस्तो अपेक्षा बेकार हुनसक्छ ।

५० को दशक उनी करियरको उत्कर्षमा थिए । नेपाली सिनेमाले एउटा यस्तो नायक पाएका थिए, जसको खास स्टारडम थियो । उनको एक झलक पाउनका लागि दर्शकहरु हलसम्म तानिन्थे । फिल्ममेकर्स भन्थे, ‘राजेश हमालको टाउको बिक्छ ।’

त्यसो त आफ्नो सार्वजनिक व्यक्तित्वमा उनले सकेसम्म क्षय हुन दिएका छैनन् । उही भव्य, सभ्य, सजग र बौद्धिक छवि ।

तर, राजेश हमालको यो व्यक्तित्व, यो बौद्धिकता, यो भव्यता उनी स्वयम्लाई सजाउने भन्दा अरु कुनै प्रयोजनमा आएको देखिदैन । किनभने समाजसँग उनको घुलमिल छैन । निकै चलाखीपूर्ण तवरले एउटा दूरी कायम गरेर आफुलाई ओभानो राखेका छन् । सायद उनलाई लाग्छ, ‘बोल्यो कि पोल्यो ।’

तपाईको प्रतिक्रिया