हलिउड/बलिउडको सिको गर्दै अहिले नेपाली फिल्ममा सिक्वेल निर्माणको लहड चलेको छ । बक्सअफिसमा सफल ठहरिएका फिल्मको नाम सापटी लिएर सिक्वेल बनाउँदा लगानी उठाउन सजिलो हुने विश्वासका कारण अचेल निर्माता तथा निर्देशकहरु नयाँ नाममा फिल्म बनाउने जोखिम मोल्न चाहेको देखिन्न । ‘सेल्फ ल्यान्डिङ’ हुन सिक्वेल फिल्ममाथि नै लगानी खन्याइरहेका छन् ।

‘नाईं नभन्नू ल, छक्का पञ्जा, ए मेरो हजुर, प्रेमगीत, म यस्तो गीत गाउँछु’ लगायतका फिल्मको सिक्वेल निर्माण भइरहेको अवस्थामा व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘प्रसाद’ को पनि सिक्वेल निर्माण हुँदैछ । तिहारपछि छायांकन सुरु हुने फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ फाइनल भइसकेका छन् भने निश्चल बस्नेत पनि फिल्म गर्न सकारात्मक देखिएका छन् ।

‘प्रसाद’ लाई दिनेश राउतले निर्देशन गरेका थिए । यसको सिक्वेलमा भने उनलाई सौरभ चौधरीले रिप्लेस गरेका छन् । कलाकार यथावत् तर निर्देशक परिवर्तन भएका कारण फिल्म कस्तो बन्ने हो भन्ने चासो धेरैमा छ । सौरभ ‘प्रसाद’ को साख गिर्न नदिने प्रतिवद्धता व्यक्त गर्छन् । उनी भन्छन्, ‘स्क्रिप्ट बलियो बनेका कारण फिल्मलाई दुई लेभलमाथि पुर्‍याउन सक्छु भन्ने लागेको छ ।’

‘प्रसाद’ ले दिन नसकेको जवाफ ‘प्रसाद २’ ले दिने उनी बताउँछन् । सौरभ चौधरीले यसअघि फिल्म ‘लभ डायरीज’ को निर्देशन गरेका थिए । ‘प्रसाद २’ लाई सुवास थापाले निर्माण गर्दैछन् भने शुशील पौडेल स्क्रिप्टलाई मूर्त रुप दिन व्यस्त छन् । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा फिल्म निर्माण हुनेछ । फिल्मको फर्स्ट ड्राफ्ट (स्क्रिप्ट) तयार भइसकेको छ ।

तपाईको प्रतिक्रिया