दामोदर बराल युवापुस्ताका औंलामा गनिने उत्कृष्ट थोरै कलाकारमध्ये पनि अग्रपंक्तिमा नाम आउने कलाकार हुन्।
रियालिस्टिक बेसमा काम गर्न रूचाउने उनका कलाहरू समकालीन कलाकारहरूमाझ अनुपम र जीवन्त देखिन्छन्। पुर्ख्यौली कास्की, आर्वा भई चितवन बसाइँ सरेका बराल प्रकृति र मुहारचित्रलाई यथार्थरूपमा न्याय दिनसक्ने अब्बल कलाकार हुन्।
उनका चित्रका ग्राहकहरू बढीजसो विदेशी पर्यटकहरू हुने उनी बताउँछन्।
उनी आफैँ पनि कला प्रदर्शनीको सिलसिलामा वर्षेनी विदेश यात्रामा निस्किरहने व्यस्त कलाकारहरूमा पर्छन्। पछिल्लो समय कोरिया, जापान, इजिप्टमा आफ्नो कला प्रदर्शनी गरिसकेका बराल देश विदेशका थुप्रै पुरस्कार र अवार्डबाट सम्मानित भइसकेका छन्।
ललितकला प्रतिष्ठान चितवनका अध्यक्ष समेत रहेका चर्चित कलाकार दामोदर बराल पर्यटकीय नगरी सौराहामा हाल क्रियटिभ आर्ट ग्यालरी संचालन गरिरहेका छन्। आज हामी उनै अब्बल युवा कलाकार दामोदर बरालका उम्दा सिर्जनाहरूलाई अवलोकन गर्ने छौँ ।







































































