सामाजिक सञ्जालमा तिव्र असन्तुष्टि वढेपछि सांसदहरुले दशैं भत्ता फिर्ता गर्न थालेका छन् ।

पछिल्लो पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सांसद गगन थापाले दसैं भत्ता फिर्ता गरेका छन् ।

खाँणले आईतवार एक विज्ञप्ति जारी गरेर दसैं भत्ता फिर्ता गरेको जानकारी दिए। उनले दसैं भत्ता बापतको रकम जनहितमा खर्च गर्नका लागि भन्दै फिर्ता गरेका हुन। कोरोनाको संकटपुर्ण अवस्थामा जनप्रतिनिधिलाई भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक, जनउत्तरदायी र उचित नभएकोले आफुलाई प्राप्त भएको दसैं भत्ता बापतको रकम संसद सचिवालय मार्फत जनहितमा उपयोग गर्न सरकारलाई फिर्ता गर्ने निर्णय गरकेो उनको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, कांग्रेसका सांसद थापाले पनि आफ्नो खातामा आएको दसैं भत्ता बापतको रकम संघीय संसद सचिवालयमा फिर्ता गरेको जानकारी दिएका छन् । उनले नगद ६४ हजार ७० रुपैयाँ फिर्ता गरिएको बताए ।

यसअघि, नेकपाका सांसद भीम रावलले आफ्नो खाताबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्न आग्रह गरेका थिए । ट्विटरमार्फत् उनले संसद सचिवालयले सांसदको पारिश्रमिकका रूपमा जम्मा भएको रकमबाट दसैं भत्तावापत आएको रकम कट्टा गर्नका लागि आफूले समर्थन जनाएको लेखेका थिए ।

यस्तै, नेकपाका सांसद जनार्दन शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्न सहयोग गर्ने घोषणा गरेका छन् । उनले अन्य सांसदले पाउने रकमवाट भेन्टिलेटर खरिद गर्न पनि सुझाव दिएका छन् ।

यति मात्र होईन, कतिपय सांसदले मासिक पारिश्रमिक समेत जनहितमा खर्च गरेका छन्।सांसद नारायणकाजी श्रेष्ठले १ वर्षको पारिश्रमिक रकममध्ये २ महिनाको कोरोना कोषमा र १० महिनाको प्रधानमन्त्री राहत कोषमा राख्ने गरेका छन् ।

नेकपाकी सांसद बिन्दा पाण्डेले कोरोना महामारीको अवधिभरका लागि भन्दै आधा महिनाको रकम कोरोना कोषमा राख्दै आएकी छन् ।

यस वाहेकका अन्य सांसदले भने हालसम्म दशैं भत्ताको रकमका वारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्। संसद सचिवालयले सांसदहरूको खातामा असोज महिनाको पारिश्रमिकसँगै दसैं खर्च पनि जम्मा गरिदिएको थियो ।

संघीय संसदका साथै विभिन्न प्रदेश सभाका सदस्यहरुलाई पनि दसैं भत्ताको व्यवस्था गरिएको छ । यस विषयमा सामाजिक सञ्जालमा तिव्र असन्तुष्टि वढिरहेको छ ।

तपाईको प्रतिक्रिया