फिल्म र कलाकारलाई दिइने अवार्डहरु कस्तो हुनुपर्छ र तिनको दायरा कसरी निर्धारण गर्ने भन्ने विषयमा धेरै लामो समयदेखि बहस जारी छ । एकथरी फिल्म अवार्डमा बढीभन्दा बढी विधालाई समेट्नुपर्छ भन्ने मान्यतामा छन् भने अर्काथरी फिल्म राम्रो बन्नका लागि अति आवश्यक हुने थोरै विधामा मात्रै अवार्ड दिनुपर्छ भन्छन् ।

खासगरी ओस्करलाई पछ्याउनेहरुले धेरैवटा विधामा अवार्ड दिनुपर्छ भन्ने गरेको पाइन्छ भने क्यान्स, बर्लिन वा भेनिसजस्ता फिल्म फेस्टिभलको शैली मन पराउनेले थोरै विधामा अवार्डलाई ठीक भन्ने गरेको पाइन्छ ।

भारत र नेपालका धेरैजसो अवार्डमा २०-२५ वटा विधा हुने गरेका छन् । तर यो क्षेत्रमा पनि केही अवार्ड भने ७-८ वटा विधामा मात्रै दिइन्छ ।

अब भने अवार्डको यो बहसमा अर्को बुँदा पनि थपिएको छ । संसारको ठूलोमध्येको एक बर्लिन फिल्म फेस्टिभलले यसपटकदेखि ‘जेन्डर न्युट्रल’ अवार्डको मान्यता अघि सारेको छ । फेव्रुअरी ११ मा सुने हुने फेस्टिभलको ७१ औं संस्करणमा उत्कृष्ट अभिनेता र अभिनेत्री तथा सहअभिनेता र सहअभिनेत्री भन्ने विधा हुने छैनन् । अर्थात फेस्टिभलले अभिनयलाई लिंगका आधारमा छुट्याएर हेर्ने छैन । यसको सट्टा मुख्य भूमिकामा उत्कृष्ट अभिनय (पफर्मेन्स इन लिडिङ रोल) को सिल्भर वियर दिइनेछ । यो अवार्ड महिला वा पुरुष कलाकार जसले पनि जित्न सक्नेछ ।

यस्तै अभिनयको अर्को विधालाई पनि सहायक भूमिकामा उत्कृष्ट अभिनय भनेर दिइनेछ । यसमा पनि महिला वा पुरुष कलाकार दुवैले प्रतिष्पर्धा गर्नेछन् । संसारभर चलिरहेको लैंगिक समानताको बहसलाई बर्लिन फिल्मफेस्टिभलले आफ्नो अवार्डमा प्रतिबिम्वित गर्न लागेको फेस्टिभलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । यस किसिमको प्रयोगले फिल्म उद्योगलाई लैंगिक समानताबारे सचेतना बढाउन पनि मद्दत गर्ने फेस्टिभलका निर्देशकहरुले आशा व्यक्त गरेका छन् । बर्लिन फेस्टिभलले इन्टरनेसनल कम्पिटिसनमा ८ वटा विधामा अवार्ड दिने गरेको छ ।

तपाईको प्रतिक्रिया