नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ ले फिल्म सम्बन्धि अन्तरक्रिया गर्दै आगामी दिनको कार्ययोजना सार्वजनिक गरेको छ । कोरोनाका कारण सुस्ताएको फिल्म उद्योगलाई चलायमान बनाउन महासंघले आउँदो बैशाखमा ‘नेपाली चलचित्र महोत्सव प्रदेश १’ आयोजना गर्ने भएको छ । प्रदेश नं १ मा रहेका पर्यटकीय स्थानलाई प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा प्रदेश नं १ मा बनेका फिल्म र सर्ट फिल्म प्रदर्शन गरिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । महोत्सवमा चलचित्र सम्बन्धि कार्यशाला र फिल्मकर्मीलाई सम्मान पनि गरिनेछ । २०७६ सालमा प्रदेश नं १ सरकारले चलचित्र महोत्सव गर्ने तयारी गरे पनि विविध कारणले रोकिएको थियो । यसले फिल्मकर्मीलाई पीडाबोध भएको अध्यक्ष प्रधान बताउँछन् ।

उनी भन्छन्, ‘खासमा चलचित्र महोत्सव सरकारले भन्दा फिल्मकर्मीले गर्ने हो । यसैले अब हामी यो महोत्सव प्रत्येक वर्ष आयोजना गर्ने योजनामा छौं ।’ महासंघको आयोजनामा भएको फिल्म सम्बन्धि अन्तरक्रिया कार्यक्रममा महासचिव दिनेश कोइरालाले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ सँग अहिलेसम्म १३ वटा विभिन्न पेशागत संघ संस्था आबद्ध रहेको जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा नगेन्द्र राईको अध्यक्षतामा नृत्यकर्मी संघ प्रदेश नं. १ पनि गठन भएको छ । १३ सदस्यीय नृत्यकर्मी संघको कार्यसमितिको उपाध्यक्षमा एलसी श्रेष्ठ र प्रणिता तमाङ, सचिवमा राजा सुब्बा लावती, कोषाध्यक्षमा अन्जली माझी, सदस्यहरुमा संकोच प्रधान, पेम्बा लामा, मिथुन ठाकुर, मनोज राजावंशी, बसन्त बस्नेत, कृष्ण बहादुर राई, सन्तोष मगर रहेका छन् ।

तपाईको प्रतिक्रिया