एउटा गीत तयार हुँदा लगानीकर्ताले कती खर्च गर्नुपर्ला ? महंगो बन्दै गएको म्यूजिक भिडियो बजारमा लगानीकर्ताका लागि थोरै रकमले काम सक्ने अवस्था अब छैन । अझ, महंगा कलाकार लियो भने म्यूजिक भिडियोको बजेट ६ लाखदेखि माथिसम्म पुगेका छन् ।

यही विचमा निर्देशक सुव्रतराज आचार्यले ५ दिनमा पाँच वटा म्यूजिक भिडियो निर्देशन गरे । उनले ‘लगनगाँठो’ नामक एल्बममा समावेश ५ वटा गीतको भिडियो तयार पारेका हुन् । जसमध्ये ३ वटा गीत सार्वजनिक भैसकेका छन् भने २ वटा गीत आज र भोली सार्वजनिक हुँदैछन् ।

यी पाँच वटै गीतलाई विनिता खनालले लेखेकी हुन् । अमेरिकामा रहेकी विनिताको यो एल्बम केही बर्ष अगाडि सार्वजनिक भएपनि भिडियो भने निर्माण भएर सार्वजनिक भैरहेको छ ।

किरण कँडेलले संगीत भरेका गीतमा विभिन्न गायक–गायिकाको आवाज छ । ५ वटा म्यूजिक भिडियो एकसाथ निर्माण गर्न गीतकार विनिता खनालले कती खर्च गरिन् होला ? के उनले गरेको लगानी फिर्ता आउने संभावना छ । वा उनले गीतका भिडियो हेरेरै आत्मसन्तुष्टी लिनुपर्नेछ ।

५ भिडियोका लागि २० लाखको प्याकेज
निर्देशक सुव्रतराज आचार्यले लकडाउन अगाडि नै भिडियो निर्माण गर्नका लागि विनितासँग प्याकेजमा सहमती गरेका थिए । यी पाँच भिडियोका लागि सुव्रतले २० लाख रुपैयाँको प्याकेजमा सहमती गरेका थिए । सुव्रत भन्छन्–‘अडियो निर्माण, विमोचन आदिमा खर्च गर्दा लागत अझै बढी लाग्ने पक्का छ । तर, मैले ५ वटा भिडियोका लागि २० लाखको प्याकेजमा काम गरेको सत्य हो ।’

यसरी हेर्दा, सुव्रतले निर्देशन गरेको एउटा भिडियोका लागि ४ लाख खर्च भएको छ । के यी पाँच गीत २० लाखमा तयार गर्न सकिन्छ त, सुव्रत भन्छन्–‘अरु कुनै पनि निर्देशकले यो स्तरको भिडियो र कलाकार राखेर २० लाखमा तयार गर्न सक्नुहुन्न । तर, मैले आफ्नो सम्बन्धलाई समेत यसमा प्रयोग गरेकाले खर्च कम हुन गएको हो ।’

सुव्रतलाई महंगा भिडियो निर्देशक पनि भनिन्छ । उनले बनाएको एउटा भिडियोमा १०–१५ लाखसम्म खर्च भएका छन् । सुव्रत भन्छन्–‘मलाई महंगो भिडियो निर्देशक भन्ने गरिन्छ । तर, मैले आफ्ना साथीभाइदेखि कलाकारसँग सहयोग लिएर काम गर्ने गरेको छु । जसलेगर्दा, पर्दामा हेर्दा महंगो देखिएपनि खर्च सो अनुरुप भएको हुँदैन ।’

यो गीतमा सुव्रतले प्रयोग गरेका विभिन्न कुरादेखि कलाकारमा समेत उनले खुलेरै खर्च गर्नु परेको छैन । सुव्रत भन्छन्–‘रेश्मा घिमिरे, विजु पार्कीले पनि मलाई सहयोग गरेका छन् । बिहेमा प्रयोग हुने बस भाडामा लिदा दिनकै १५ हजार लाग्छ । मैले यो पनि संझना वुढाथोकीसँग सहयोग लिएको छु । ब्यान्ड बाजादेखि कलाकारको वर्कशपमा समेत मैले सहयोग लिएको छु । यसैले पनि भिडियो सस्तोमा निर्माण हुन सकेको हो ।’

सुव्रतले लकडाउन अगाडि भिडियो निर्माणको प्याकेजमा सहमती गरेपनि काम हुन सकेन । लकडाउनपछि कलाकार, प्राविधिकको पारिश्रमिक बढिसकेको थियो । तर, पनि उनले गीतकार विनिता खनालसँग थप रकम माग गरेनन् र पुरानै सहमतीमा ५ वटा भिडियोको काम सकाएका थिए ।

लगानी फिर्ता हुने संभावना कती ?
विवाहको मेहेन्दीदेखि रत्यौलीसम्मको गीतका लागि गीतकार खनालले २० लाख खर्च गरेकी छिन् । अडियो निर्माणको हिसाब जोड्ने हो भने उनको लागत अझै बढेको छ । तर, के उनको लगानी फिर्ता हुने संभावना छ त ?

यी पाँचैवटा गीतलाई ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । भिडियोबाट आएको रकमको ६० प्रतिशत रकम मात्रै निर्माता खनालले पाउनेछिन् । सार्वजनिक भएका ३ गीतहरुको भ्यूज हेर्दा लगानी फिर्ता हुनका लागि दर्शकको अझै उल्लेख्य साथ पाउनुपर्ने देखिएको छ ।

सार्वजनिक भएको २१ घन्टामा ‘दौरा सुरुवाल’लाई ५४ हजार भ्यूज, सार्वजनिक भएको २ दिनमा ‘आयो है आयो’लाई १ लाख ५७ हजार भ्यूज र सार्वजनिक भएको १ दिनमा ‘धुतुरी धुतुरी’लाई १ लाख ४२ हजार भ्यूज मिलेको छ । यसैले पनि यी पाँचै वटा गीतले करोड माथिको भ्यूज पाएको अवस्थामा मात्र युटुबबाट निर्माताको रकम फिर्ता हुने अवस्था आउनेछ ।

यसैले, हालसम्मको अवस्था हेर्दा गीतकार विनिता खनालले एउटा नयाँ प्रयोग नेपाली म्यूजिक भिडियो बजारमा गरे भनेर खुशी व्यक्त गर्न सक्ने अवस्था मात्र देखिन्छ ।

तपाईको प्रतिक्रिया