प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्म ‘माया बस्छ कि के हो !’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच पोस्टरसँगै फिल्ममा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको हो । फर्स्टलुक पोस्टरमा फिल्मका प्रमुख अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मत निरौला फिचर छन् । पोस्टरले उनीहरुबीचको प्रेमभाव बोल्छ ।

फिल्मको शीर्ष गीत भने यही शुक्रवार यूट्युबमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । राजु अधिकारी निर्देशित फिल्मको प्रस्तुतकर्तामा शरद अधिकारी रहेका छन् । बहादुर सिंह तामाङ र गंगा गिरी निर्माता रहेको फिल्मको कथा आरती अधिकारीले लेखेकी हुन् । फिल्मको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तले आवाज भरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको फिल्मको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो । फिल्ममा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ । फिल्मलाई सिनेमा हल खुलेपछि प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

तपाईको प्रतिक्रिया