नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा भ्याइनभ्याइ छ । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी भोजपुरीका ठूला स्टारको समेत रोजाइमा परेका छन् । उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिँदै आएका छन् ।

उनको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी फिल्म ‘माही’ मा नेपाली अभिनेत्री नीता ढुंगानाले अभिनय गर्ने भएकी छन् । पहिला फिल्मको मुख्य अभिनेत्रीमा निर्माण टिमले काजल राघवानीसँग सम्झौता गरेको थियो । उनले विशेष कारणले फिल्म गर्न नसक्ने भएपछि निर्देशक पन्तले नीतालाई अनुबन्ध गरेका हुन् । नीताले यसअघि पनि केही भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।

कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्दैछन् भने आद्या गुप्ता र ज्योति दिनेश पाण्डे सह-निर्माताको रुपमा रहनेछन् । फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा छायांकन हुने फिल्मको कथा निर्देशक पन्तले स्वंयमले तयार पारेका हुन् । नेपाली छायाँकार पुरुषोत्तम प्रधानले खिच्ने फिल्ममा मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको कोरियोग्राफी, ओम झाको संगीत, विरेन्द्र पाण्डे र ड्रेगन प्रकाशको एक्सन रहनेछ । फिल्मको आगामी फेब्रअरी ६ तारिखबाट छायांकन सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया