काठमाडौं। २७ डिसेम्बरमा बलिउड सुपरस्टार सलमान खान ५५ वर्षमा प्रवेश गरे। कोरोना महामारीका कारण यो वर्ष उनले सामान्य तरिकाले बर्थडे सेलिब्रेसन गरे।
चलचित्रको छायांकनमा रहेकाले उनले यो वर्षको बर्थडे चलचित्रकर्मीहरूसँगै मनाएका थिए। उनले शुभचिन्तकहरूलाई आफ्नो घरमा भीडभाड नगर्न आग्रह गरेका थिए। जसका कारण शुभचिन्तकहरू उनको घरमा गएनन्।
उनको जन्मदिनको अवसरमा भारतमा मात्र नभएर नेपालमा पनि केक काटिएको छ। आइतबार राति उनका नेपाली प्रशंसकहरूको ठूलो समूहले केक काटेर जन्मदिन मनाएको हो।
दरबारमार्गस्थित किंगस् लन्जमा सलमानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ ह्युमन’ को नेपाल फ्रेन्चाइज लिएको समूहले नेपाली सेलिब्रेटीहरूको उपस्थितिमा केक काटेको हो।
‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ ले आयोजना गरेको बर्थडे सेलिब्रेसन कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री सुष्मा कार्की, अभिनेता प्रशान्त ताम्राकारलगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो।
सलमानको प्रशंसक रहेकी अभिनेत्री सुष्माले केट काट्दै सलमानसँग लण्डनमा भेट हुँदाको क्षण स्मरण गरिन्।
‘बिइङ ह्युमन क्लोथिङ नेपाल’ का डाइरेक्टर सुरज केसीले सलमानको जन्मदिनको अवसरमा अशक्तहरूलाई ४५ हजार रूपैयाँ बराबरको खाद्यन्न सहयोग गरेको जानकारी दिए।
उक्त समूहले सलमानलाई नेपाल ल्याउने प्रयास गर्दै आएको छ। गएको मे १६ मा सलमान नेपाल आउने निश्चित भएको थियो। तर, कोरोना महामारीका कारण स्थगित भएको थियो।
अब कोरोना महामारीको अवस्था सामान्य भएपछि उनलाई नेपाल ल्याउन पुनः प्रयास गरिने केसीले बताए।




































