काठमाडौं। नायिका ऋचा शर्माको आमाको निधन भएको एक वर्ष पुगेको छ। आमा रिनादेवीको गत वर्ष आजकै दिन ६७ वर्षको उमेरमा निधन भएको थियो।

आमाको निधनबाट आफू अझै पनि विक्षिप्त बनिरहेको ऋचाको भनाई छ। वार्षिक पुण्यतिथिमा सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा उनले आमा बित्दा आफ्नो सानो संसार एकाएक भताभुंग भएको बताइन्।

आमाको निधनले आफ्नो मुटुको एउटा कुना नै भत्किएको भन्दै उनले लेखेकी छिन्, “मलाई राम्ररी थाहा छ- त्यो कुनो म बाँचुन्जेल कहिल्यै भरिनेछैन् अब।”

आमाको निधनपछि आफूले जीवनको ओत गुमाएको भन्दै उनले लेखेकी छिन्, “आमा भनेका घर हुन्। त्यो घर, जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ। जीवन दिनेहरू इश्वर हुन्। मेरी इश्वर मबाट टाढा गएको आज एक वर्ष भयो। उहाँ गएपछि मेरो जीवनले ओत गुमायो। अर्थ गुमायो। मैले मेरो शीरमाथिको ब्रह्माण्ड गुमाएँ।”

आमा विनाका ३६५ दिन आफ्नो लागि रित्तो पानामा रुपान्तरित भएको उनले बताइन्। “उहाँविनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य त छन्। तर अर्थ र आत्मा छैन्। आमा! सन्तानहरू मायाका भोका हुन्छन्। म एक वर्षदेखि भोको छु। र, यो भोक जीवनभर मेटिनेछैन्,” उनले लेखेकी छिन्।

ऋचाले विवाह गरेको एक महिनामै आमा गुमाएकी थिइन्।

तपाईको प्रतिक्रिया