काठमाडौं। सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा मुछिएपछि उनकी प्रेमिका रिया चक्रवर्ती लामो समयपछि बाहिर निस्किएकी छिन्। सुशान्तले आत्महत्या गरेपछि उनी लागुऔषध प्रकरणमा एक महिना न्यायिक हिरासतमा बसेकी थिइन्। अदालतको आदेशपछि उनी रिहा भएकी थिइन्।

जेलबाट छुटेपछि पहिलोपटक घरबाट बाहिर निस्किएकी हुन्। यतिबेला उनी आफ्नो लागि नयाँ घर खोज्नमा व्यस्त छिन्। अहिले बस्दै आएको घर खाली गर्न घरधनी र स्थानीय समाजले आग्रह गरेपछि उनको परिवार नयाँ घर खोज्न हिँडेको हो।

रियासँगै उनको बुवा इन्द्रजीत तथा भाइ शौविक पनि मुम्बईको गल्ली-गल्लीमा घुमिरहेको देखेपछि मिडियाले उनीहरूलाई पछ्याएका थिए। आफूलाई पछ्याउँदै गरेका मिडियाकर्मी तथा फोटोग्राफरलाई उनले आफ्नो पछि नलाग्न आग्रह गरिन्।

लागुऔषध प्रकरणमा अनुसन्धान गर्ने निकाय नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनको घरमा छापा मारेको थियो। त्यसपछि हरेक दिनजसो उनको घरबाहिर मिडियाकर्मीको भीड लाग्ने गरेको थियो।

दैनिक मिडियाको भीड तथा लागुऔषध प्रकरणमा रिया मुछिएपछि घरधनी तथा स्थानीय समाजले उनलाई घर खाली गर्न आग्रह गर्दै आएका थिए।

हरेक महिनाको पहिलो सोमबार अदालतमा हाजिर

धरौटीमा रिहा भएकी रियाले हरेक महिनाको पहिलो सोमबार अदालतमा तारिख बुझाउनुपर्छ। रिया र उनका भाइ सौविक हरेक महिनाको पहिलो सोमबार ब्यूरोको अफिसमा हाजिर हुनुपर्छ। सन् २०२१ जनवरीको पहिलो सोमबार ब्यूरोको अफिस पुगेका थिए। आधा घण्टा सोधपुपपछि दुवै जना आफ्नो घरतिर लागे।

रियाको प्रेमी सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए।

रियाकै कारण आफ्नो छोरा आत्महत्या गर्न बाध्य भएको भन्दै सुशान्तका बुबाले प्रहरीमा उजुरी दिएका थिए। उक्त प्रकरणमा रिया दोषी देखिइनन्।

तर, त्यसपछि लागुऔषध सेवन गर्ने गरेको आरोपमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा उनले लागुऔषध प्रयोग गर्ने गरेको प्रमाण देखिएपछि हिरासतमा राखेर थप अनुसन्धानको माग गर्दै अदालतसमक्ष अपिल गरिएको थियो। अदालतले पनि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

सोही आधारमा उनी एक महिना हिरासतमा बसेकी थिइन्। पछि उच्च अदालतले रिहा गरेर जेल बाहिरैबाट मुद्दा लड्न दिन आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया