काठमाडौँ। विन्ध्यवासिनी म्युजिकका सञ्चालकलाई कारवाहीको माग गर्दै कलाकारहरूले प्रहरीसमक्ष अपिल गरेका छन्। गायक तथा संगीतकार प्रमोद खरेललाई गाली-गलौज गरेको भन्दै ५७ जना गायक-गायिकाहरूले हस्ताक्षर गरेर प्रहरीसमक्ष कारवाहीको अपिल गरेका हुन्।
उनीहरूले महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीविरुद्ध अपिल जारी गरेका हुन्। आफ्नै लगानी र कपिराइट रहेको ‘प्रणय’ एल्बम विन्ध्यवासिनी म्युजिकसँग नियमअनुसार फिर्ता माग्दा रेग्मीले गालीगलौज गरेको अपिलमा उल्लेख गरिएको छ।
उक्त म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीले स्रस्टाप्रति लक्षित गरेर गाली गलौज गर्नुका साथै मानमर्दन गरेको भन्दै उनीहरूले आवश्यक कारबाहीको माग गरेका हुन्।
अपिलसहित कारबाहीको माग गर्दै हस्ताक्षर गर्नेमा गायक प्रमोद खरेलसहित संगीतकार लक्ष्मण शेष, गायक राजेश पायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, राजन इशान, धीरज राई, उदेश श्रेष्ठ, अर्जुन पोखरेल, कमल खत्री, तुलसी पराजुली, कालीप्रसाद बासकोटा, चेतन सापकोटा, वसन्त सापकोटा, उदय सोताङ, अञ्जु पन्त, रामकृष्ण ढकाल, आनन्द कार्की, दीपक वज्राचार्य, सन्तोष लामा, जेम्स प्रधान, राज सिग्देल, निशान भट्टराई, कमल क्षत्री, अभिनेता रविन्द्र खड्का, अस्मिता अधिकारी, एलिना चौहान, रचना रिमाललगायत छन्।
उनीहरूले प्रहरीमा उजुरी दिनेसमेत तयारी गरेका छन्। “सबै प्रक्रिया पूरा गरेर एक-दुई दिनमा हामी उजुरी हाल्छौँ। यदि कुनै गलत छ भने कानूनी प्रक्रियामार्फत अगाडि बढ्नुपर्छ। फेसबुकमार्फत कलाकारलाई गालीगलौज गर्ने, मानमर्दन गर्ने कार्यविरुद्ध कलाकार एकजुट भएका हुन्,” गायक प्रमोदले भने।
प्रमोद र सुवासबीच यतिबेला गीतको विषयमा विवाद चलिरहेको छ। प्रमोदले आफ्नो ‘प्रणय’ एल्बम पाँच वर्षका लागि विन्ध्यवासिनीलाई दिएका थिए। तर, अहिले फिर्ता माग्न खोज्दा दुवै पक्षबीच विवाद शुरू भएको हो।
अहिलेसम्म सम्झौता पुनः नवीकरण नगरी व्यापार-व्यवसाय गरिरहेको भन्दै प्रस्तोताको प्रतिलिपि अधिकारसँगै आर्थिक अधिकारसमेत हनन् भएको भन्दै प्रमोदले प्रहरीमा कपिराइटको उजुरी हालेका छन्।
प्रमोदले सुवासविरुद्ध कपिराइटको उजुरी गरेका हुन्। यसअघि केही दिनअगाडि गायक-गायिकाहरूको संस्था प्रस्तोता समाजले पनि प्रमोदको पक्षमा उभिँदै कानूनी उपचार खोजन सुझाव दिएको थियो।
विन्ध्यवासिनी म्युजिकले भने बिना अनुमति प्रमोदले उक्त एल्बम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टेजमा प्रयोग गरिरहेको भन्दै रजिस्ट्रारको कार्यालयमा उजुरी दिएको थियो। प्रमोदले भने पाँच वर्षका लागि मात्र विन्ध्यवासिनीलाई दिएको बताउँदैं आएका छन्।




































