अभिनेत्री पूजा शर्माले फिल्ममा जुन अभिनेतासँग काम गर्छिन्, उसैसँग अफेयरमा हल्ला चल्छ । ‘प्रेमगीत’ रिलिजताका प्रदीप खड्का र ‘म यस्तो गीत गाउँछु’ को समयमा पल शाहसँग उनको नाम जोडिएको थियो । ‘रामकहानी’ मा सँगै काम गरेपछि उनी अभिनेता आकाश श्रेष्ठको प्रेममा डुबेको चर्चा छ । तर, उनीहरु आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको दाबी गर्छन् ।

‘रामकहानी’ पछि एकपछि अर्को फिल्ममा सहकार्य हुनु र सार्वजनिक कार्यक्रममा जाँदा समेत साथ नछुट्नुले उनीहरु प्रेममा रहेको कुरालाई बल मिलिरहेको छ । यो जोडीले गत वर्षको फागुनमा विवाह गर्न लागेको चर्चा समेत चलेको थियो । पर्दामा केमेस्ट्री सुहाउने र वास्तविक जीवनमा निकै नजिक भएका कारण दर्शकहरुले पनि उनीहरुलाई एक भएको हेर्न चाहेका छन् ।

बिहीवार अभिनेत्री श्वेता खड्का र विजयन्द्र सिंह रावतको रिसेप्सन पार्टीमा आकाशको साथमा पुगेकी पूजा अहिले आफू सिंगल लाइफको मजा लिइरहेको बताउँछिन् । बिहेको प्रश्नमा उनी भन्छिन्, ‘बिहे गर्ने दिन त आउँदैछ । तर, सिंगल लाइफ भनेको चिज फर्केर फेरि आउँदैन । यसको रमाइलो छुट्टै छ । अहिले म यसैको मजा लिइरहेको छु । मलाई सिंगल लाइफ अझै जिउनु छ ।’

विवाहका लागि आफू तयार नभइसकेको उनको भनाई छ । ‘विवाह भन्ने चिज जोक्स होइन । एक/दुई वर्षका लागि विवाह गर्ने होइन, जीवनभर साथमा विताउनु पर्छ । त्यसका लागि एकअर्कालाई राम्रोसँग बुझ्नु पर्छ । हरेक चिजको समय आउँछ भनिन्छ । मेरो विवाहको पनि समय आउनेछ,’ उनले भनिन् । अभिनेता श्रेष्ठले पनि विवाहका लागि आफू नहतारिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया